एकीकृत समाजवादीको अनुपस्थितिमा प्रचण्ड र भट्टराई-यादवबीच भेटवार्ता


काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ।

माओवादी केन्द्रका अध्यक्ष दाहालसँग जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र जसपा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले आइतबार भेटवार्ता गरेका हुन्।

आइतवार सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तीन नेताबीच छलफल भएको हो। नेताहरूले दिवा ११ः४५ देखि १२ः२० सम्म छलफल गरेका थिए। छलफलपछि नेताहरू सिंहदरवारबाट सँगसँगै बाहिरिएका थिए।

भेटपछि न्युज एजेन्सी नेपाललाई संक्षिप्त प्रतिक्रिया दिँदै जसपा केन्द्रीय समिति अध्यक्ष यादवले सामान्य गफगाफ मात्रै भएको बताए। आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरूले गठबन्धन गरेर जाने निर्णय गरे पनि कतिपय स्थानीय तहमा सत्तारुढ दलबीच गठबन्धन बन्न सकेको छैन।

गठबन्धनको सम्बन्धमा विभिन्न अड्कलवाजी भइरहेका वेला गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस र गठबन्धनमा आबद्ध अर्को दल नेकपा (एकीकृत समाजवादी)को अनुपस्थितिमा दुई दलबीच छलफल भएको हो।

प्रतिक्रिया