बेंसीशहरको प्रमुखमा काँग्रेसबाट ६ जनाको दाबी


लमजुङ – लमजुङको बेंसीशहर नगरपालिका प्रमुख उम्मेदवार लागि नेपाली काँग्रेसका ६ जनाले दाबी गरेका छन् ।

स्थानीय तह निर्वाचन नजिकिएसँगै उम्मेदवार छनोटमा लागेको नेपाली काँग्रेसले स्थानीय तहबाट उम्मेदवार सिफारिस गर्ने क्रममा कार्यकर्ता भेला गरी आकाङ्क्षीहरूको आवेदन सङ्कलन गरेको हो ।

सो क्रममा बेंसीशहर नगरपालिका प्रमुखका लागि पार्टीको जिल्ला पदाधिकारीसहितका ६ जनाले आवेदन दिएका छन् ।

नगरप्रमुखमा नेपाली काँग्रेस गण्डकी प्रदेश सङ्गठन विभाग प्रमुख एवं निवर्तमान जिल्ला सचिव हरि बराल, जिल्ला उपसभापति श्रीकान्त घिमिरे, जिल्ला सचिव कृष्णबहादुर अधिकारी रहेका छन् ।

त्यसै गरी, नगरप्रमुखको उम्मेदवार आकाङ्क्षीहरूमा महाधिवेशन प्रतिनिधिहरु जीवनकुमार श्रेष्ठ र वृषराज गुरुङ र बेसीशहर–११ की सुप्रिया जोशीले पनि काँग्रेसका तर्फबाट मेयरमा उम्मेदवार बन्ने आकाङ्क्षा राखेको नेपाली काँग्रेस बेंसीशहर नगर सभापति शरणहरि जोशीले बताए ।

नगर स्तरीय भेलामा प्रमुखसहित उपप्रमुख उम्मेदकारीका लागि भने पाँच जनाले आकाङ्क्षा राखेका छन् ।

उपप्रमुख आकाङ्क्षा राख्नेहरुमा नेपाली काँग्रेस महासमिति सदस्य टीका बस्याल, जिल्ला कार्यसमिति सदस्य सरस्वती धिताल, नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति कोषाध्यक्ष तिरकाशी गुरुङ, नेपाल शिक्षक सङ्घ गण्डकी प्रदेश प्रतिनिधि विष्णुमाया भण्डारी, नेका गण्डकी प्रदेश प्रतिनिधि सुस्मिता अधिकारी लगायतले आकाङ्क्षा व्यक्त गरेका हुन् ।

प्रतिक्रिया