राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २४ सै घण्टा निःशुल्क प्रसूति सेवा सुरु


देउखुरी – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अबदेखि २४ सै घण्टा निःशुल्क प्रसूति सेवा सञ्चालन हुने भएको छ ।

उपकुलपति डा। वसन्त लामिछानेले प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम निःशुल्क रहेको जनाउँदै अब प्रसूति सेवा लिन आउने महिलालाई शुल्क नलाग्ने बताए ।

उपकुलपति नियुक्त भएपछि डा। लामिछानेले प्रसूति सेवालाई निःशुल्क गराउने प्रतिबद्धता जनाएका थिए । उनले पूर्वनिर्धारित योजनाअनुसार नै शुक्रबारदेखि अस्पतालमा प्रसूति सेवा निःशुल्क गरिएको जानकारी दिएका हुन् ।

यसअघि अस्पतालमा आमा सुरक्षा कार्यक्रम निःशुल्क चले पनि आवश्यक जनशक्तिको अभावमा १२ बजेपछि सुत्केरी हुन आउने महिलाले सेवा लिएबापत पैसा तिर्नुपर्ने बाध्यता थियो ।

प्रसूति सेवा निःशुल्क भएपछि प्रसूतिका लागि आउने आमालाई सहज हुने स्थानीय बताउँछन् । घोराहीमा निःशुल्क प्रसूति सेवा नभएका कारण दाङका महिलालाई पैसा खर्च गरेर नेपालगन्ज वा बुटवल जानुपर्ने बाध्यता रहेको थियो ।

उपकुलपति डा। लामिछानेले निःशुल्क प्रसूति सेवाका लागि थप जनशक्ति थपिने र तत्कालका लागि अस्पतालकै जनशक्ति परिचालन गरेर सेवा दिइने बताए ।

प्रतिक्रिया