
मधेसमा आज जुडशीतल मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा
काठमाडौँ– मधेस प्रदेशसहित मिथिलाञ्चल क्षेत्रमा आज हर्षोल्लासका साथ जुडशीतल पर्व मनाइँदै छ। प्रत्येक वर्षको वैशाख २ गतेका दिन बिहानैदेखि गाउँगाउँमा ठूलाबडाले आफुभन्दा सानाको शिरमा जल थपथपाएर आर्शीवाद दिने गरिन्छ।
बुबाआमा, गुरु, मान्यजन एवम् जेष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल रालेर आर्शीवाद दिँदै पर्व मनाउन आज पनि सुरु भइसकेको छ।
यस पर्वमा वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने ठूलाबडा एवम् जेष्ठ सदस्यले आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ।
आजका दिन रुखविरुवामा पानी हाल्नुको साथै खेतबारीमा मलजल गर्ने परम्परा छ। सूर्यको तापबाट आकुलव्याकुल मानव लगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य हो।
नयाँ वर्षमा जल सिँचित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्ने जनविश्वास छ। आजैका दिन केही स्थानमा हिलोपानी पनि खेल्ने गरिएको छ। विशेष परिकार बनाएर खाने चलन पनि यस पर्वमा छ। जुडशीतलको अवसरमा मधेस प्रदेश भर आज सार्वजनिक बिदा दिइएको छ।



कागजपत्र |
