गठबन्धन र तालमेल राजनीतिक संस्कृतिको लागि हितकर छँदै छैन : महामन्त्री थापा


काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन र निर्वाचनअघि भएको तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि हितकर नभएको बताएका छन् ।

नयाँ वर्षको अवसरमा काठमाडौँमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धन तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि यो हितकर छँदै छैन भन्ने मेरो आफ्नो मत हो । तर, पार्टीको निर्णय मानेको छु । मान्नुपर्छ । यो विषयमा बहस गर्नै पर्छ ।’

उनले संसदीय व्यवस्थामा दलहरुबीच गठबन्धन हुनसक्ने भए पनि यो संस्कृतिले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो नगर्ने बताए । गठबन्धनले काँग्रेसलाई मात्र नभई अन्य दलहरुलाई पनि राम्रो नगर्ने बताए ।

महामन्त्री थापाले चुनावी तालमेलकै सन्दर्भमा संयन्त्रले गरेको सर्कुलरको गलत बुझाइ भएकोसमेत बताएका छन् । उनले स्थानीयस्तरमा राजनीतिक दलहरूबीच कुरा मिले मात्रै स्थानीय तह निर्वाचनमा तालमेल हुने बताए । त्यसैले अवस्था हेरेर तालमेल गर्ने भनी निर्णय गरिएको उनको भनाइ छ ।

महामन्त्री थापाले जिल्लाका कार्यकर्ताले तालमेल गर्दैनौँ भन्दा हस्तक्षेप गर्न नुहुने र उनीहरूको कुरालाई सम्मान गर्नुपर्ने बताए । स्थानीय कमिटीले नै कोसँग मिल्ने वा नमिल्ने भन्ने निर्णय गर्न पाउनुपर्ने उनको भनाइ छ ।

‘स्थानीय चुनावमा पनि स्थानीय साथीहरूले म कोसँग मिल्छु या मिल्दिन, मेरो मतदाताले के भन्छ भन्ने कुराको निर्णय गर्न पाएन भने र माथिबाट थोपर्दा सबै बिग्रिन्छ’ उनले भने, ‘तालमेल गर्ने नगर्ने कुरा तलको कमिटीले निर्णय गर्ने हो । माथिबाट कसैले निर्णय गर्न मिल्दैन । त्यो स्थानीय चुनावको मर्म विपरीत हुन्छ ।’

प्रतिक्रिया