नेपालको अर्थतन्त्र श्रीलङ्काकाे बाटाेमा पुग्दैन, दुई देशकाे अवस्था नै फरक छ : प्रवक्ता भट्ट


काठमाडौं – नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्टले नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तो अवस्थामा नपुग्ने बताएका छन्। आज बिहीवार पत्रकारसंग कुराकानी गर्दै उनले श्रीलङ्का र नेपालको अर्थतन्त्रमा आधारभूत अवस्था नै फरक रहेको स्पष्ट पारे।

उनले भने, ‘श्रीलङ्का उच्च विदेशी ऋण भएको देश हो । श्रीलङ्का सरकारको स्वामित्वका संस्थाहरूको ऋणसमेत जोड्ने हो भने सरकारको दायित्व कुल गार्हर्थ्य उत्पादनको ११७ प्रतिशत हुन आउँछ । ११७ प्रतिशत ऋण भएको देश र ४० प्रतिशत कुल गार्हस्थ्य उत्पादनको विदेशी ऋण भएको देशको तुलना हुन सक्दैन ।

श्रीलङ्का पछिल्लो समय आर्थिक व्यवस्थापनभन्दा बाहिर गएको थियो । करका दर घटाउने, करका दरहरूलाई खारेज गर्ने, सामाजिक सुरक्षाका कार्यक्रमहरूमा अनावश्यक रूपमा उदारता देखाउँदा श्रीलङ्का समस्यामा परेकाे हाे । श्रीलङ्काको उदाहरण व्यवस्थापन र संरचनासँग देखिएका हुन् ।  हाम्रो त्योभन्दा अवस्था फरक हो । रुस–युक्रेन युद्धका कारण, कोरोना महामारी र गएकाे वर्ष उच्च रूपमा कर्जा विस्तारका कारण घरजग्गा, उत्पादनभन्दा आयात र शेयर बजारमा बढी लगानी भएको प्रभाव स्वरूप पनि अहिले अर्थतन्त्रमा दबाब देखिएको हो ।’

यस्तै उनले  पछिल्लो समय घट्दै गएको विदेशी मुद्रा सञ्चिति घट्न नदिन विलासिताका बस्तु आयातमा रोक लगाएको बताए। मुलुकको अर्थतन्त्रमा थप चुनौती आउन नदिन राष्ट्र बैंकले बाह्य क्षेत्र व्यवसथापन गर्न केही बस्तुको आयात रोक लगाउन परेको स्पष्ट पारे। उनले अहिले सबै भन्दा ठूलो चुनौती विदेशी मुद्रा सञ्चिति व्यवस्थापन रहेकाले समयमा नै सतर्कता अपनाउन खोजेको बताए।

राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र संकट देखिएर विलासिताका बस्तु आयातमा रोक नलगाएको भन्दै प्रवक्ता भट्टले संकटाबाट जोगाउन एउटा टुल्स प्रयोग गरिएको बताए। उनले बाहिर हल्ला आएजस्तो अर्थतन्त्र आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए।

राष्ट्र बैंकसँग ६/७ महीनाका लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने विनिमय विदेशी मुद्रा सञ्चिति रहेको प्रवक्ता भट्टले जानकारी दिए। उनले पछिल्लो समय अर्थतन्त्र सकारात्मक संकेतहरू देखा परेको बताए। कोरोना महामारी पछि मुलुकको आर्थिक क्रियाकलाप बढ्दै गएकाले वस्तुको माग बढ्दा आयातमा वृद्धि भएको आयात वृद्धि भए पश्चात विदेशी मुद्रा सञ्चिति र सोधानान्तर घाटा बढेको प्रवक्ता भट्टको भनाइ छ।

त्यस्तै प्रवक्ता भट्टले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो अवस्थामा नपुग्ने बताए। उनले श्रीलंका र नेपालको अर्थतन्त्रमा आधारभूत अवस्था नै फरक रहेको स्पष्ट पारे। श्रीलंका कुल गार्हथ्य उत्पादनको ११७ प्रतिशत विदेशी ऋण भएकाले अहिलेको अवस्था आएको प्रवक्ता भट्टको भनाइ छ।

प्रतिक्रिया