

नेपालले भारतमा थप ३२५ मेगावाट विजुली बिक्री गर्न पायो अनुमति

काठमाडौं – नेपालले भारतीय विद्युत् ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावाट विद्युत् बिक्रीको अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय विद्युत् बजारमा थप ३२५ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति दिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आज बुधवार पत्रकार सम्मेलन गरेर भारतले विद्युत् प्राधिकरणका तीन वटा सहायक कम्पनी र एउटा निजी कम्पनीले उत्पादन गरिरहेको थप तीन सय २५ मेगावाट बिजुली भारतको प्रतिस्पर्धी बजारमा बेच्न नेपाललाई अनुमति दिएको जानकारी दिइन् ।
अब कालीगण्डकी जलविद्युत् आयोजनाको एक सय ४० मेगावाट, मर्स्याङ्दी जलविद्युत् आयोजनाको ६७ मेगावाट र मध्य मर्स्याङ्दी आयोजनाको ६८ मेगावाट बिजुली किन्न सहमति जनाएको मन्त्री भुसालले बताईन् ।
यसअघि २०७८ कात्तिकमा पहिलो चरणमा ३९ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री गर्न स्वीकृति दिएको थियो । योसँगै नेपालले भारतीय बजारमा ३६४ मेगावाटसम्म विद्युत् विक्री गर्न प्रवेश पाउने भएको छ ।
नेपालले थप विद्युत् निर्यातका लागि स्वीकृति पाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा उनका समकक्षी नरेन्द्र मोदीसँग भएको सहमति कार्यान्वयनको चरणमा प्रवेश गरेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

