

नवआगन्तुक र बरिष्ठ कानुन व्यावसायीबीचको खाडल पुर्न प्रतिबद्ध छुः तिवारी

काठमाडौं – कानुन व्यवसायीहरुको छाता संठगन नेपाल बार एशोसिएसनमा नयाँ नेतृत्वको निर्वाचन हुँदैछ । आगामी शनिबार हुने कार्य समिति निर्वाचनमा मुख्य गरी दुई प्यानल चुनावी मैदानमा रहेका छन् ।
प्रजातान्त्रिक प्यानलबाट बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको नेतृत्वमा उम्मेदवारहरु खडा भएका छन् भने प्रगतिशील तथा पेशागत व्यवासायीले भने वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीको नेतृत्वमा प्यानल खडा गरेको छ ।
नेपाल बारको निर्वाचनमा घिमिरेको प्यानलबाट युवा अधिवक्ता सन्तोष तिवारीले सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । विगत लामोसमयदेखि कानुनी पेशामा लागेका तिवारीले खुल्ला सदस्यका रुपमा उम्मेदवारी दिएका हुन् ।
‘विकृति विसंगति तथा भ्रष्टाचारमुक्त न्यायपालिका, व्यावसायिक हक, प्रतिष्ठा र पेशागत मर्यादा’ को नारासहित चुनावी मैदानमा उत्रिएको लोकतान्त्रिक प्रगतिशिल समावेशी तथा पेशागत कानुन व्यवसायी समूह चुनावी मैदानमा उत्रिएको तिवारीले बताए । ‘न्यायपालिकाको शुद्धिकरणका साथै नवआगन्तुक कानुन व्यवसायीलाई व्यावसायिक सुनिश्चितताका नै मेरो उम्मेदवारीको प्रमुख लक्ष्य हो,’ तिवारीले भने । उनले पछिल्लो समयमा न्यायपालिकाका साथै कानुन व्यवसायीप्रतिको समाजले हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्दै मर्यादित र सम्मानित पेशाको रुपमा कायम राखि राख्नका लागि आउने नेतृत्वले भूमिका खेल्ने पनि जनाए । उनले भने, ‘लोकतान्त्रिक प्यानलको प्रमुख उद्देश्य भनेकै पेशाकर्मीको मर्यादा र प्रतिष्ठामा आँच आउन नदिई न्यायपालिकाको शुद्धिकरण नै पहिलो प्राथमिकता हो ।’
विशेष गरी युवा कानुन व्यवसायीमाझ लोकप्रिय रहेका तिवारीले व्यावसायिक कार्यको साथ साथै व्यवहारिक रुपमा पनि नवआगन्तुक व्यवसायीको समस्यालाई पहिचान गर्दै अगाडि बढीरहेका छन् । त्यसका साथै तिवारीले बरिष्ठ कानुन व्यवासायीहरूले नवआगन्तुक व्यवसायीलाई व्यावसायिक र व्यवहारिक रूपमा बाटो देखाउनुपर्ने बताए । त्यसका लागि बार केन्द्रीय सदस्यमा उनको जितबाट नवआगन्तुक र बरिष्ठ कानुन व्यवसायीहरुबीचको खाडल पुर्दै पेशागत हक, हितका लागि लागि पर्ने प्रतिबद्धतासमेत तिवारीले व्यक्त गरेका छन् ।

