

भरतपुर महानगर प्रमुखमा पुनः माओवादीको दाबी रहन्छ : अध्यक्ष दाहाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले तालमेल सत्ता साझेदार दलका बीचमा नै हुने जानकारी दिए ।
उनले भने, ‘महानगर र उपमहानगर पालिकालाई केन्द्रबाटै तालमेल गर्ने भन्ने छलफल चलेको छ । बिहीबार बस्ने गठबन्धनको बैठकबाट केही न केही निर्णयमा पुग्छौ’, उनले भने, ‘कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेपछि गठबन्धनका बीचमा आवश्यकताअनुसार तालमेल हुने कुरामा प्रस्ट भएको छ ।’
भरतपुर महानगरमा आफूहरुको दाबी रहेको जनाउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्र शक्ति सुदृढ गर्ने र आवश्यकताअनुसार तालमेल पनि गर्नेमा अघि बढेको बताए । सबै राजनैतिक दलहरु आ–आफ्नो तवरले निर्वाचनको तयारीमा लागेको जनाउँदै उहाँले निर्वाचन हुने कुरा सुनिश्चित भइसकेको छ भने ।

