

मन्त्री आलेकाे निर्देशनमा बतास समूहले होटल सञ्चालन गरिरहेको पशुपति धर्मशाला खाेस्ने निर्णय

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले पशुपति धर्मशाला बतास समूहबाट खोस्ने निर्णय गरेका छन् । सोमबार मन्त्री आलेको समेत उपस्थितिमा बसेको पशुपति विकास कोषको बैठकले यस्तो निर्णय गरेको हो ।
बुधबार बेलुकी मात्रै जिल्ला प्रशासन कार्यलयलाई प्रहरी सहयोगको लागी पत्र लेख्ने र बिहीबार बिहानै १० बजे बतासलाई सम्झौता भङ्ग भएको लिखित जानकारी दिने योजना रहेको मन्त्री सचिवालयले जनाएको छ ।
बतास समूहले मन्त्रालय र पशुपति विकास कोषकाविरुद्ध अदालतमा गएको र उच्च अदालतमा मुद्दा विचाराधीन नै रहेको छ । अदालतले दिएको अल्पकालीन अन्तरिम आदेश र त्यसपछिको आदेशले समेत त्यस्तो प्रकारको स्पष्टीकरण बतास समूहले दिनु नपर्ने आशयको नै निर्णय समेत गरेको छ ।
पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता खारेज गर्न छानबीन समितिले सिफारिश गरिसकेको छ । धर्मशाला भाडामा लिएर महँगोमा होटल चलाएको भन्दै आलोचना भएपछि पर्यटनमन्त्रीको प्रस्तावमा पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले गठन गरेको छानबीन समितिले बतास समूहसँगको सम्झौता खारेज गर्न सिफारिश गरेको थियो ।

