

राजविराज र तिलाठी कोइलाडी फाइनलमा

सप्तरी – जित्नै पर्ने दबाबमा रहेको खेलमा सुनिल धमलाको कप्तानीमा तिलाठी कोइलाडी जायन्ट्स राजविराजले राजविराज ब्रदर्शलाई पराजित गर्दै मेयर कप सप्तरी प्रिमियर लिगको फाइनलमा पुगेको छ ।
तिलाठी कोइलाडी जायन्ट्स लिग चरणको चार खेलमा तीन खेल जित्दै चौथो संस्करणको फाइनलमा पुगेको हो । राजविराज रङ्गशालमा बुधबार हुने फाइनलमा उपाधिका लागि जायन्ट्सले टिभीएस किङ्ग्स राजविराजसँग प्रतिस्पर्धा गर्नेछ ।
राजविराज द किङ्ग्सले पनि लिग चरणको चार खेलमा समान तीन जित र एक हार बेहोर्दै ६ अङ्क बटुलेको छ । राजविराजस्थित रङ्गशालामा आज सम्पन्न खेलमा तिलाठी कोइलाडीले दिएको १३६ रनको लक्ष्य पछ्याएको राजविराज ब्रदर्शले १८.२ ओभरमा १०५ रन मात्र बनायो । ब्रदर्शका लागि नीरजकुमार यादव र सोनु तामाङले समान २४ रन तथा विकास दासले १६ रनको योगदान दिए ।
तिलाठी कोइलाडीको बलिङमा योगेन्द्रसिंह कार्कीले सर्वाधिक ४ विकेट लिए । उनले चार ओभरमा ३२ रन खर्चिए । यस्तै सुनिल धमलाले चार ओभरमा १६ रन खर्चेर ३ विकेट लिए भने भुवन कार्कीले २ तथा रोहन विश्वकर्माले १ विकेट लिए ।
टस जितेर ब्याटिङ गरेको तिलाठी कोइलाडी जायन्ट्सले २० ओभरमा ८ विकेटको क्षतिमा १३५ रन बनाएको थियो । जायन्ट्सका लागि विकास दासले सर्वाधिक ५४ रन बनाए । उनले ४० बलमा चार चौका र तीन छक्का प्रहार गरे । अविशेख कार्कीले २४ र सुनिल धमलाले २० रन योगदान दिए । ६९ रनमा सात विकेट गुमेको अवस्थामा विकासले आठौँ विकेटको लागि अविषेकसँग ६२ रनको साझेदारी गरे ।
राजविराज ब्रदर्शका बलर दिपेश कँडेलले सर्वाधिक चार विकेट लिए । जुन क्रममा चार ओभरमा १२ रन खर्चिए । विक्रमध्वज कार्की र प्रशान्त सिंहले २÷२ विकेट लिए । खेलको प्लेयर अफ द म्याच विकास दास घोषित भए । सप्तरी क्रिकेट सङ्घद्वारा आयोजित प्रतियोगिताको विजेताले रु तीन लाख तथा उपविजेताले रु एक लाख प्राप्त गर्नेछन् ।

