
रविन्द्रलाई सम्झँदै प्रेम आले भन्छन्- ‘पोखरा संसारसँग जोडिने छ’
पोखरा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरालाई अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने बताएका छन् ।
चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेसँगै शनिबार सो विमानस्थल निर्माण कम्पनीलाई कदरपत्र प्रदान गर्दै मन्त्री आलेले भने, ‘नेपाली पर्यटन क्षेत्रको गहना पोखरा विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो, अब यो अन्तर्राष्ट्रिय पर्यटन बजारसँग सिधै जोडिएको छ, यो विमानस्थलले पोखरालाई विश्वमाझ पुर्याउनेछ छ ।’
मन्त्री आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि अब नेपालको पर्यटन प्रवद्र्धन गर्न तथा नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउन थप टेवा पुग्ने बताए । उनले भने, ‘पोखरा संसारका पर्यटकहरूको आकर्षणको केन्द्र हो, आफ्नो व्यस्ताबाहेक मलाई लाग्छ नेपाल आएको पर्यटक पोखरा नपुगी फर्किन मान्दैन, त्यसैले अब यो विमानस्थलले पोखरा आउन चाहने पर्यटकका लागि सहजता प्रदान गर्नेछ ।’
उनले पोखरेली र पोखराका पर्यटन व्यवसायीलाई बधाई दिँदै पोखरामा अब ठूला होटल निर्माण गर्न र पर्यटन प्रवद्र्धनका प्याकेज कार्यक्रम ल्याउन पनि आग्रह गरे ।
मन्त्री आलेले भने, ‘पोखराजस्तो सुन्दर पर्यटकीय स्थान पोखरेलीहरूलाई प्रकृतिको सुन्दर बरदान हो, यसलाई थप सुन्दर बनाउन यो विमानस्थलले यहाँहरूलाई सहयोग गर्नेछ । अब यहाँहरुले बढीभन्दा बढी होटल खोल्नुहोस्, बढीभन्दा बढी पर्यटक भित्र्याउनुहोस् र यहाँको पर्यटन क्षेत्रको विकासमा तपाईँहरू नै लाग्नुहोस्, सरकारको सहयोग के चाहिन्छ हामीलाई भन्नुहोस् ।’
मन्त्री आलेले पोखरामा अब विश्वका पर्यटक आउने भएकाले पाँचतारे मात्र नभएर साततारेसम्मका होटल खोल्न पनि आग्रह गरे । ठूला होटल तथा क्यासिनो खोल्नका लागि पर्यटन मन्त्रालयले आवश्यक सहयोग गर्नेसमेत मन्त्री आलेले जानकारी दिए ।
मन्त्री आलेले हामी यहाँबाट अन्तर्राष्ट्रिय क्षेत्रमा उडान गर्दा टनकपुर हुँदै दिल्ली जाने र फर्किँदा उक्त रुट हाम्रा जहाजले नपाउने भएकाले आफूले भारतको हैदरावादमा गएर त्यहाँका आफ्ना समकक्षी आदित्यनारायण सिन्धियासँग लिमा सिक्स टु सिक्स एकतर्फी नभइ दुइतर्फी बनाउन आग्रह गरेको र उनी सकारात्मक रहेको जानकारी पनि दिए ।
पोखारा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सहयोग गर्ने पोखरावासीलाई मन्त्री आलेले धन्यवाद दिए । उनले मुलुकको पर्यटन क्षेत्रको विकासमा गतिला इँटा थपिने काम हुँदै गएको बताए । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अबका केही दिनमै सञ्चालनमा आउने काम महत्वपूर्ण र ऐतिहासिक भएको भन्दै नेपालको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा यी दुई विमानस्थलनले ठूलो टेवा पुर्याउने बताए ।
सोही कार्यक्रममा मन्त्री आलेले पोखरा विमानस्थल निर्माणको जग बसाल्न लागिपरेको भन्दै तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पनि स्मरण गरे । सो विमानस्थल निर्माण सम्पन्न हुनुमा पूर्वमन्त्री अधिकारीको ठूलो योगदान रहेको उनले बताए । मन्त्री आलेले भने, ‘यो विमानस्थल निर्माण गर्न स्व अधिकारीको सहयोग कहिल्यै बिर्सिन हुँदैन । विकासप्रेमी मेरा परममित्र रवीन्द्रजीको देनले हामीले यो विमानस्थल निर्माण सम्पन्न गराउन सफल भएका छौँ, उहाँलाई हामीले कहिले बिर्सिनु हुँदैन ।’



कागजपत्र |
