
सर्लाहीमा भिषण आगलागी १३ घर पूर्ण रुपमा जले, स्थानीयको बिचल्ली
सर्लाही– सर्लाहीको धनकौल गाउँपालिका–५, पासवान टोलमा आगलागी हुँदा १३ वटा घर जलेर नष्ट भएका छन्। शनिबार दिउँसो स्थानीय प्रदीप पासवानको घरबाट सुरु भएको आगलागीले बस्तीका १३ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागीमा परेर प्रदीप पासवान, रामवली पासवान, जवाहिर पासवान, शीतल पासवान, बिकाउ पासवान, जितन पासवान, रामविश्वास पासवान, गगनदेव पासवान, नन्दकिशोर पासवान, सरफलाल पासवान, राकेश साह, रामनाथ पासवान र मचिन्दर पासवानको घर पूरै जलेर नष्ट भएको छ।
आगलागीबाट जलेका अधिकांश फुसको छानो भएका थिए। आगलागीबाट लाखौँको क्षति भएको छ। स्थानीयवासी, सुरक्षाकर्मीसहित सदरमुकाम मलङ्गवा नगरपालिका र हरिवन नगरपालिकाबाट पुगेको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशंकरप्रसाद यादवले जानकारी दिए।
भएको सम्पूर्ण सरसामान आगोमा डढेको कारण पीडित परिवारको विचल्ली भएको धनकौल गाउँपालिका ५ का वडाध्यक्ष गजेन्द्र महतोले बताए।



कागजपत्र |
