

जनजाति महासङ्घको अध्यक्ष र महासचिव काँग्रेस-एमाले गठबन्धनबाट निर्वाचित

काठमाडौं – नेपाल आदिवासी जनजाति महासङ्घको अध्यक्षमा ग्याल्जेन शेर्पा विजयी भएका छन् । नेपाली काँग्रेस र एमालेबिच भएको गठबन्धनबाट शेर्पा अध्यक्ष बनेका थिए । उनले माओवादी केन्द्र र जनता समाजवादीबाट उम्मेदवार बनेका सोनाम लामालाई पराजित गरेका हुन् । शेर्पाले ४४ मत ल्याउँदा लामाले ८ मत मात्रै पाए।
नवलपरासीमा उद्घाटन भएको १० औँ महाधिवेशनमा एमाले र काङ्ग्रेसबिच गठबन्धन हुँदा अध्यक्ष काँग्रेस र अन्य बहुमत पदाधिकारी एमालेले लिने सहमति भएको थियो । महासचिवमा पनि काँग्रेस-एमालेकै गठबन्धनबाट दिवस राई निर्वाचित भएका छन् । उनले ३६ मत ल्याएर माओवादी–जसपाका उम्मेदवार सुकविर थामीलाई पराजित गरेका हुन् । थामीले १५ मत मात्रै ल्याए।
अन्य सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा बुद्ध घर्ती निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै ७ जना उपाध्यक्षमा युवराज जिरेल, ध्यानी उराँव, क्षेत्रबहादुर थकाली, गम्भीर सिंह गुरुङ भोटे, लाक्पा शेर्पा, लहरु जिमी र श्रुति कुमाल रहेका छन् ।
त्यस्तै एक उपमहासचिवमा रामकृष्ण लामा निर्विरोध निर्वाचित भएका छन् । सचिव पनि सबै निर्विरोध निर्वाचित भएका छन् । सचिवहरूमा मङ्गलराम दराई, गोविन्द लामा, मोहन राजवंशी, विकास सुरेल, ममता मेचे, छोर्गेल लामा, यमुना छन्त्याल र भ्रदकुमारी बरामु निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा विमल सारू र सह कोषाध्यक्षमा रिदार नोसाङ भोटे निर्विरोध निर्वाचित भएका छन्।

