

बीमा समितिले बढायो बीमा कम्पनीहरुको चुक्ता पूँजी

काठमाडौं – बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी बृद्धि गरेको छ । समितिको संचालक समितिको आज बसेको बैठकले बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी २.५ अर्ब पुर्याएको छ ।
बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी समग्रमा नेटवर्थ बढाई सो अनुरुप कम्पनीहरुको जोखिम वहन क्षमता बढाउन, कम्पनीहरुलाई एकअर्कामा गाभ्ने गाभिने अनुकुल वातावरण सिर्जना भई उपयुक्त संख्यामा राख्न तथा पूँजिगत आधार बलियो बनाउन सहयोग पुग्ने समितिको भनाई छ ।
यस्तै, ठूलो पूँजी भएमा सेवाको लागत कम भई बीमाको पहूँच विस्तार गर्न, ठूलो पूँजी कायम गरी कम्पनीहरुबीच स्वस्थ्य प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पूँजीसँग सामञ्जस्यता हुनेगरी चूक्ता पूँजी कायम गर्न पूँजी वृद्धिको निर्णय गरिएको समितिले जनाएको छ ।

