भूमि व्यवस्थामन्त्री श्रेष्ठले बाडिन गाउँ ब्लक पुर्जा


तनहुँ – बन्दीपुर गाउँपालिका–६ धरमपानीका सर्वसाधारणलाई गाउँ ब्लक पुर्जा वितरण गरिएको छ । साविक धरमपानी गाउँ विकास समितिअन्तर्गत वर्षौंदेखि जोतभोग गर्दै आएका भूमिहीनलाई आज नापी कार्यालयले गाउँ ब्लक जग्गाको धनी पुर्जा वितरण गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले ४६ जग्गाधनीलाई पुर्जा वितरण गरेकी हुन् । सो अवसरमा मन्त्री श्रेष्ठले देशभर नापी भइसकेका गाउँ ब्लकका नागरिकलाई पुर्जा वितरण गर्ने अभियान सुरु गरिएको बताइन् ।

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि राष्ट्रिय भूमि आयोग गठन गरिएको र आयोगमार्फत सुकुम्बासीलाई लालपुर्जा प्रदान गरिने उनले प्रतिबद्धता व्यक्त गरिन् ।

नापी कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले ब्लकमा परेका व्यक्तिहरुलाई लालपूर्जा वितरण गरिएको जानकारी दिए । कार्यालयले विगतमा पनि जिल्लाका विभिन्न ठाउँका सर्वसाधारणलाई गाउँ ब्लक पुर्जा वितरण गरेको उनले बताए । पुर्जा पाएपछि स्थानीयवासी खुसी भएका छन् ।

पुर्जा नहुँदा उनीहरु व्यक्तिगत काम, बैंकबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशबण्डा गर्नबाट वञ्चित थिए । विसं २०२९ देखि २०३२ सम्म तनहुँमा पहिलो पटक नक्सा नाप गरिएको थियो । तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँ ब्लक भनेर एउटै कित्तामा जग्गा नापी गरिएको थियो ।

एकै ठाउँमा धेरै घर भएका ठाउँमा नाप नक्सा हुन छुट भएको थियो । उक्त समयमा ती जग्गामा ब्लक नं लेखिएको थियो । नापी कार्यालयले अहिले त्यही ब्लक नं नापेर भोगका आधारमा पुर्जा वितरण गरेको हो । तनहुँमा विसं २०७१ देखि गाउँ ब्लक नाप्न सुरु गरिएको थियो । नापी कार्यालयका अनुसार जिल्लामा साविकका २२ वटा गाविसमा गाउँ ब्लक रहेको छ ।

प्रतिक्रिया