राष्ट्रिय भलिबल प्रतियोगिता : गण्डकी, बागमती र पुलिस विजयी


धनगढी – धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ अन्तर्गत आज भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लब, गण्डकी र बागमती प्रदेश विजयी भएका छन् । आजको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले प्रदेश नम्बर १ लाई ३–० को सोझो सेटले पराजित गर्‍यो ।

पुलिसले २५–१८, २५–१० र २५–१८ को सेटले प्रदेश नम्बर १ लाई पराजित गरेको हो । खेलका ‘म्यान अफ द म्याच’ नेपाल पुलिस क्लबका रवीन चन्द घोषित भए । दोस्रो खेलमा गण्डकी प्रदेशले विभागीय टोली एपिएफलाई ३-१ को सेटले पराजित गरेको छ । गण्डकीले २५-२० र २५-१८ ले पहिलो र दोस्रो सेट जितेकोमा तेस्रो सेट १९-२५ ले गुमाएको थियो । तर २५-२३ ले चौथो सेट जित्दै गण्डकी विजयी बनेको हो । खेलको ‘म्याद अफ द म्याच’ गण्डकीका घनश्याम चौधरी घोषित भए ।

आजै भएको तेस्रो खेलमा बागमती प्रदेशले मधेस प्रदेशलाई ३–१ को सेटले पराजित गरेको छ । बागमतीले पहिलो सेट २५–१६ ले जितेकोमा दोस्रो सेट भने २३–२५ ले गुमाएको थियो । त्यसपछि भएका दुई सेट २५–२१ र २५–१६ ले बागमती प्रदेशले जितेको हो । खेलको ‘म्यान अफ द म्याच’ बागमती प्रदेशका नवीन महतो भए । पराजयसँगै मधेस प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगिताको विजेताले रु चार लाख, उपविजेताले रु दुई लाख, तेस्रो हुने टोलीले रु एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले रु ५० हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ ।

प्रतिक्रिया