राष्ट्रपति र प्रधानमन्त्रीलाई प्रचण्डले भने,‘प्रतिगमनका पुजारीहरू जनताले सहजै बढार्छन्’


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरंकुश तानाशाहको संज्ञा दिएका छन्।

प्रदर्शनी मार्गमा मंगलबार भएको आफ्नो समूहको विरोध सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले त्यसो भनेका हुन्। संविधानमा भनेका चार विकल्प कुल्चेर प्रतिनिधि सभा भंग गरेर केपी ओलीले इतिहासमा कलंकको टिको लगाएका छन्।

‘आँधीहुरी, आन्दोलनको विशाल महासागर आयो म त्यसैमा बगिदिएँ भनिदिनुभयो, मैले पत्याएँ। तर उहाँ बयलगाडाकै सिद्धान्तमा हुनुहुन्छ भन्ने देखियो’ उनले भने,‘मैले नै प्रधानमन्त्रीमा प्रस्ताव गरेका ओलीबाट संविधानमाथि यति ठूलो निर्मम प्रहार भएकाले म क्षमा चहान्छु।’

ओलीले आफैंले बनाएको संविधानको बलात्कार गरें भनेर माफी नमागेसम्म इतिहासले, नेपाली जनताले माफी नदिने बताएका प्रचण्डले भने,‘ओली कम्युनिस्ट पार्टीको विधि पद्दतीप्रति स्खलित भइसकेको, उहाँले भनेको लोकतन्त्र भनेको पनि कति निरंकुश रहेछ भन्ने प्रतिनिधि सभा विघटन गरेपछि थाहा भयो। उहाँ निरंकुश तानाशाह हो भन्ने बेला आएको छ।’

यदि संविधानमाथिको निर्मम प्रहारलाई सच्याउने कोशीश गरिएन भने यो त ट्रेलर मात्र हो, आँधीबेहरी आउन बाँकी रहेको चेतावनी दिँदै प्रचण्डले भने,‘यो कदम, प्रतिगमन सच्याइएन भने २४० बर्षको राजतन्त्र बढार्न सक्ने जनताले तिमीहरू प्रतिगमनका पुजारीलाई त सहजै बढार्छन्।’

प्रतिनिधि सभा विघटनको खेल एक बर्षअघि देखि नै चलेको खुलाएका उनले भने,‘दल विभाजनसम्बन्धी अध्यादेश, संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर अर्को दललाई पनि विभाजन गराउने तयारी थियो।’

ओलीलाई प्रचण्डले बारम्बार क्रुर, निरंकुश र जनभावना विरोधीको संज्ञा दिएका थिए।

प्रतिक्रिया