होलीमा काठमाडौं ट्राफिकको कडाइ : मापसे गर्ने १०६ जनालाई कारवाही
काठमाडाैं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागु पूर्णिमा (होली) लाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौंमा १ हजार ३०० बढी ट्राफिक प्रहरी खटाएर कडाइका साथ चेकजाँच गरेको छ ।
दुर्घटनारहित होली पर्व बनाउनका लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी आफ्नो जनशक्ति परिचालन गरेको थियो ।
महाशाखाले होली मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका विभिन्न ६८ स्थानमा चेक प्वाइन्टहरू राखेर बिहानदेखि नै कडा चेकजाँचको व्यवस्था मिलाएको थियो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले रंगहरूको पर्वमा सबै जना फेस्टिभ मूडमा हुने, होहल्ला गरी सवारी चलाउने, नशालु पदार्थको सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहने कुरालाई मध्यनजर गरेर बिहानैदेखि चेक प्वाइन्ट राखी चेकिङलाई कडा पारिएको बताए ।
उनले होली लक्षित ट्राफिक व्यवस्थापन कडा गरिएको कारण काठमाडौंमा कुनै अप्रिय घटना नभएको पनि जानकारी दिए ।
‘बिहानदेखि साँझ ६ बजेसम्म चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने १०६ जनालाई कारबाही गरेको छ,’ एसएसपी जोशीले भने, ‘बिना हेल्मेट, ३ जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गर्ने ९०६ वटा सवारी चालकलाई कारबाही र होल्ड गरिएको छ ।’
उच्छृंखल तथा अवाञ्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीब्र गति र जिकज्याक गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी मोटरसाइकल हुइँक्याउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा ३ जनाभन्दा बढी सवार गरी चलाउने, सवारीसाधनको प्रयोग गरी महिलालाई लक्षित गरी रंग लोला हान्ने र अभद्र व्यवहार गर्ने, ठूलो आवाज निकाल्ने र मोडिफाई गरी सवारी चलाउने, सवारी चालक अनुमतिपत्र नभएकाहरूले सवारीसाधन चलाउने, ट्राफिक नियम विपरीत सवारी चलाउनेमाथि विशेष निगरानी बढाई कडाइका साथ कारबाही गरिएको पनि महाशाखाले जनाएको छ ।