साउदी महिला अधिकारकर्मीलाई पाँच वर्ष जेल सजाय


रियाद(एजेन्सी)–साउदी अरबकी लोकप्रिय महिला अधिकारकर्मी लुजैन अल अथलौललाई पाँच वर्ष आठ महिनाको जेल सजाय सुनाइएको छ । लुजैन साउदी अरबका ती केही महिलामा पर्छिन्, जसले महिलालाई गाडी चलाउन दिने अधिकारको माग गरेकी थिइन् । महिला अधिकारका लागि आवाज उठाउने ३१ वर्षीया हथलौल करिब अढाई सालदेखि कडा सुरक्षाका बीच जेलमा छिन् ।

सन् २०१८ मा हथलौल र उनका साथ कैयौ अन्य अधिकारकर्मीहरुलाई साउदी अरबसँग दुश्मनी राख्ने संगठनको सम्पर्कमा रहेको आरोपमा हिरासतमा लिइएको थियो । अन्तर्राष्ट्रिय मानवाधिकार समूहहरुले उनीहरुको रिहाईको माग गरिरहेका छन्

तर सोमबार आतंकवाद मामलाको सुनुवाईका लागि बनाइएको देशको विशेष आपराधिक न्यायालयले हथलौललाई राष्ट्रिय सुरक्षामा नोक्सान पुर्याएको र विदेशी एजेण्डामा अगाडि बढेकोसहित कैयौं आरोपमा दोषी ठहराइएको थियो ।

अदालतले आफ्नो आदेशमा उनलाई पाँच वर्ष आठ महिना जेल सजाय सुनाएको छ । तर अढाई वर्षदेखि हथलौल जेलमै रहेका कारण उनको सजायमा कम हुनेछ ।

हथलौल र उनको परिवारले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । परिवारले हथलौललाई जेलमा यातना दिएको आरोप लगाए पनि अदालतले तयो कुरालाई अस्वीकार गरेको छ । हथलौललाई सन् २०१८ मा साउदीमा महिलालाई गाडी चलाउने अधिकार पाउनु अघि नै हिरासतमा लिइएको थियो । साउदी अधिकारीहरुले उनलाई हिरासतमा लिनुको यस मामलासँग कुनै सम्बन्ध नरहेको बताएका छन् ।

हथलौलका परिवारले हिरासतमा लिएपछि तीन महिनासम्म कोहीसँग कुराकानी गर्न अनुमति नदिएको बताएका छन् । उनलाई बिजुलीको झट्का दिइएको, कोर्रा मारिएको र उनको यौन शोषण समेत गरिएको परिवारको आरोप छ । परिवारले हथलौलले आफूमाथि भएको प्रताडनाको बारेमा बाहिर नबताए मात्र छोड्ने दबाब दिएको दाबी गरेका छन् । मानवअधिकार विशेषज्ञहरुले उनको ट्रायल अन्तर्राष्ट्रिय मानक अनुरुप नभएको जनाएका छन् ।

गत नोभेम्बरमा एमनेस्टी इन्टरनेशनलले स्पेशलाइजÞ्ड क्रिमिनल कोर्टमा उनको मुद्धा पठाएकोमा साउदी सरकारको निन्दा गरेको थियो । उसले त्यसलाई साउदी अधिकारीको क्रुरता र पाखण्डको उदाहरण भनेको थियो ।

प्रतिक्रिया