मेयर कप क्रिकेटको उपाधि खलङ्गालाई


बैतडी – बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौँ संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि दनपा–४ खलङ्गाले जितेको छ। आज सम्पन्न फाइनल खेलमा दनपा–५ दशरथचन्दलाई ५ विकेटले स्तब्ध पार्दै खलङ्गाले उपाधि हात पारेको हो।

खलङ्गा गत संस्करणको विजेता हो। उसले गत वर्ष पनि दशरथचन्दलाई नै ४ रनले हराउँदै उपाधि जितेको थियो। उपाधिसँगै खलङ्गाले ७५ हजार पुरस्कार प्राप्त गर्‍यो। उपविजेता दशरथचन्दले रु ५० हजार प्राप्त गर्‍यो।

फाइनलमा दशरथचन्दले दिएको ८८ रनको सामान्य लक्ष्य खलङ्गाले १०.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। उसका लागि हरिश कार्कीले अविजित ५२ रनको पारी खेले। बलिङतर्फ दशरथचन्दका सुमन रावलले ३ विकेट लिए।

त्यसअघि निङ्ग्लाशैनी खेल मैदान देहीमाडौैँमा पहिला ब्याटिङ गरेको दशरथचन्दले १६.१ ओभरमा सवै विकेट गुमाएर ८७ रन बनायो। उसका लागि आकाश रावलले १७, सुमन रावलले १४ र जगदिश चन्दले १३ रन बनाए। बलिङतर्फ खलङ्गाका गोविन्द नाथ, प्रदीप चन्द र हरिश कार्कीले ३/३ विकेट लिए। खेलको म्यान अफ दी म्याच खलङ्गाका हरिश कार्की घोषित भएको दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले जानकारी दिए।

प्रतियोगिताको उत्कृष्ट खेलाडी खलङ्गाका प्रदीप चन्द भए। उनले प्रतियोगिताभर व्यक्तिगत १९३ रन बनाउनुकासाथै सात विकेटसमेत लिएका थिए। यस्तै प्रतियोगिताभर १० विकेट लिएका ग्वाल्लेकका दीपक जोशी उत्कृष्ट बलर घोषित भए।

विजेता तथा उपविजेता टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा, उपप्रमुख मीना चन्द, नगर क्रिकेट समितिका संयोजक रमेश भट्टलगायतले पुरस्कार वितरण गरे।

दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा गत फागुन २५ देखि सञ्चालन भएको प्रतियोगितामा ११ टोली सहभागी थिए। नगरपालिकाले वार्षिक कार्यक्रममा राखेर हरेक वर्ष मेयर र उपमेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया