अशोक शर्मा भट्टलाई राष्ट्रिय युवा प्रतिभा सम्मान!


काठमाडौं – गोरखा फुजेलका अशोक शर्मा भट्ट ‘राष्ट्रिय युवा प्रतिभा सम्मान–२०७८’ बाट सम्मानित भएका छन्। युवा तथा खेलकुद मन्त्रालयले आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच उनलाई सम्मानसहित पुरस्कृत गरेको हो।

राष्ट्रिय युवा प्रतिभा सम्मान कार्यविधि, २०७५ अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको छनौट समितिले भट्टसहित १२ जनालाई आर्थिक वर्ष ०७८/०७९ मा प्रदान गरिने राष्ट्रिय युवा प्रतिभाबाट सम्मान गरेको हो।

भट्ट पछिल्लो समय रत्ननगर नगरपालिका–१५ चितवनमा बस्दै आएका छन्।

भट्टसहित सम्मानसहित पुरस्कृत हुनेहरुमा विरेन्द्रनगर–१२ सुर्खेतका हिमकुमारी उपाध्याय, बारपाक सुलिकोट–६ गोरखाका धिर्जबहादुर उपरकोटी, नरहरीनाथ–१ कालिकाकोटका मंगल बहादुर विष्ट, भरतपुर–१३ चितवनका सन्तोष वोटे, सुन्दरबहजार–६ लमजुङका कुसुम केसी रहेका छन्।

यस्तै बकैया–४ मकवानपुरका सुमित्रा घिमिरे, देवचुली–१६ नवलपरासी बर्दघाट सुस्ता पूर्वका राजन गौतम, विरेन्द्रनगर–१ सुर्खेतका राजकुमारी पौडेल, शिवपुरी–४ नुवाकोटका राजाराम गुरुङ र मालारानी–८ अर्घाखाँचीका खिम प्रसाद पन्थी रहेका छन्।

संस्थातर्फ भने भानु १२ तनहुँको मिर्लुङ बहुउद्देशीय कृषि फर्म प्रा.लि.ले सम्मान प्राप्त गरेको छ।

राष्ट्रिय युवा प्रतिभा सम्मानको राशी भने एक लाख रुपैयाँ रहेको छ। राष्ट्रिय युवा प्रतिभा सम्मान युवा तथा खेलकुदमन्त्री गहतराज र मन्त्रालयका सचिव दामोदर रेग्मीले दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका थिए।

त्यस्तै ‘युवा पत्रकारिता पुरस्कार’ बाट चारजना पत्रकार पुरस्कृत भएका छन्। पुरस्कृत हुनेमा पत्रकारहरु केशव भुल, पुर्ण बहादुर खड्का, बसन्ती बास्तोला र सिताराम ओझा रहेका छन्। उनीहरु पनि खेलकुदमन्त्री गहतराज र मन्त्रालयका सचिव रेग्मीले दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै पुरस्कृत गरेका हुन्।

युवा पत्रकारिता पुरस्कारको राशी ५० हजार रूपैयाँ रहेको छ। २०७५ सालदेखि युवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष युवाको क्षेत्रमा कलम चलाउँदै आएका चार–चार जनालाई पुरस्कृत गर्दै आएको छ।

यस पटक पुरस्कार प्राप्त गर्नका लागि गत पुष १४ गते सूचना प्रकाशित गरेको थियो।

प्रतिक्रिया