

फ्रान्सले ८० वर्षमाथिका व्यक्तिलाई कोरोनाविरुद्धको चौथो मात्रा खोप दिने

पेरिस – फ्रान्सले ८० वर्षमाथिका व्यक्तिलाई कोरोना भाइरसविरुद्धको चौथो मात्रा खोप दिने भएको छ । फ्रान्सका प्रधानमन्त्री जीन कस्टेक्सले देशका अग्रज नागरिकको स्वास्थ्य अवस्थालाई ख्याल गरेर भोलि साेमवारदेखि कोरोना भाइरसको चौथो मात्रा खोप दिने बताएका छन् ।
कोरोना भाइरसको बुस्टर मात्रा लगाएको तीन महिना पुगेका वृद्धवृद्धालाई चौथो मात्रा खोप दिइने खबरमा उल्लेख छ । पहिले ८० वर्षमाथिका नागरिकलाई चौथो मात्रा दिइने र त्यसपछि अरू नागरिकको बारेमा पनि निर्णय लिइने प्रधानमन्त्री कस्टेक्सले बताए ।
यसैबीच फ्रान्सले सार्वजनिक ठाउँमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने नियम हटाएको छ । सरकारी कार्यालय, होटल/रेष्टुरेन्ट, सिनेमा हल लगायतका ठाउँमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गरिएकोमा अब यस्तो नियम हटाइएको छ ।
तर कमजोर र वृद्धवृद्धाको स्वास्थ्यलाई ख्याल गरेर अस्पताल र अवकाश घरहरूमा भने कार्डलाई अझै अनिवार्य गरिएको छ । फ्रान्समा भोलिदेखि विद्यालय र काम गर्ने ठाउँमा मास्क लगाउन अनिवार्य गरिने छैन । तर सार्वजनिक यातायातमा यात्रा गर्दा भने मास्क अनिवार्य लगाउनुपर्नेछ । एजेन्सी

