सुक्खा बन्दरगाह निर्माणको काम धमाधम


नेपालगञ्ज – बाँकेको नेपालगञ्जमा एकीकृत जाँच चौकी (सुक्खा बन्दरगाह) निर्माणको काम अहिले धमाधम सुरु भएको छ । भारत र नेपालबीच भएको सम्झौताबमोजिम नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा सुक्खा बन्दरगाह बन्न लागेको हो ।

बन्दरगाह निर्माणका लागि नेपाल सरकारले झण्डै ९१ बिघा जमिन अधिग्रहण गरेको छ । अधिग्रहण गरिएका कूल जग्गामध्ये ६७ बिघा भारत सरकारले कार्यालय, गोदामलगायतका संरचना निर्माण गर्ने तथा बाँकी २४ बिघा जग्गा बाटोका लागि छुट्याइएको छ । नेपालकोतर्फबाट सुरक्षाकर्मीका लागि केही संरचना निर्माण गर्ने दुई मुलुकबीचको सम्झौतामा उल्लेख छ ।

सुक्खा बन्दरगाह निर्माणका लागि नेपाल सरकारले जग्गामात्र उपलब्ध गराउने र अन्य काम भारत सरकारकोतर्पmबाट हुने सम्झौता छ । सम्झौताको १० वर्षपछि नेपालकोतर्फबाट निर्माणको काम अघि बढाइएको छ । सो निर्माण कार्य दुई वर्षभित्र सक्ने योजना रहेको छ । भारत सरकारले आफ्नो तर्फ २०७५ पुसदेखि नै निर्माणको काम शुरु गरिसकेको सङ्घीय आयोजना कार्यान्वयन इकाइ नेपालगञ्जका होमनाथ भुसालले जानकारी दिए । बन्दरगाह निर्माणका लागि कूल रु दुई अर्ब ३५ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

सो बन्दरगाह निर्माण भएमा नेपालगञ्ज भन्सार कार्यालयबाट हुने सेवा प्रवाह व्यवस्थित हुने र यसको प्रत्यक्ष लाभ मुलुककै अर्थतन्त्रमा पर्ने यस क्षेत्रका उद्योगी, व्यापारीको बुझाइ छ । सुक्खा बन्दरगाहमा मालसामान आयात निर्यातका लागि आवश्यक पर्ने सबै कार्यालय स्थापना हुनेछन् ।

लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा अहिले उद्योग, व्यापार बढदै गएको अवस्थालाई दृष्टिगत गरी भारत र नेपालको आयातनिर्यातलाई सहज व्यवस्थापन गर्न सुक्खा बन्दरगाह कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया