नेकपा प्रवक्ता श्रेष्ठको आडमा कमानसिंहलाई सडकमा पुराउने षडयन्त्र यसरी रचिएको थियो!


सुसन कर्माचार्यबाट पैसा उठाउन प्रचण्डले आश्वासन दिएका थिए,  प्रधानमन्त्री ओलीले भनेका थिए– अहिले पार्टीमा समस्या छ म सहयोग गर्दिन्छु

काठमाडौं– पूर्वसांसद तथा पूर्वराजदूत कमानसिंह लामाले मृत्युअगाडि खोलेका ७ महिनाअघि देखिका कतिपय तथ्यले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजीको आडमा घरबार बिगारिदिएको र सडकमा पुराएको विवरण सतहमा आउन थालेका छन्।

राजनीतिक रुपमा श्रेष्ठसँगै लामो समय बिताएपनि ७ महिनाअघि देखि आफूलाई सडकमा पुराउन खोजेको अभियोग सामाजिक सञ्जालमार्फत कमानसिंहले खुलासा गर्दै आएका थिए। तर सत्ता र शक्तिको आडमा श्रेष्ठले लामाको आवाजलाई दबाएका थिए, पत्नी इन्द्रमाया तामाङमार्फत।

कोरोना संक्रमण र किड्नीको बिरामीका कारण जब कमानसिंहको मृत्यु भयो यस प्रकरणका तथ्यको खोजी सार्वजनिक भएको अडिओ र भिडिओ प्रकरणमार्फत सुरु भयो।

पतिको मृत्युमा रत्तीभर पनि शोकको भावमा नरहेको भनक दिएकी इन्द्रमायाले प्रवक्ता श्रेष्ठको बचाऊमा विज्ञप्ति निकालेकी छन्, जहाँ कमानसिंहकी बुहारी मिनु लामाले भक्कानिँदै अन्याय भएको बताएकी छन्।

७ महिनाअघि नै गएको ८ जेठमा कमानसिंहले सामाजिक सञ्जाल फेसबुकमार्फत खुलेआम प्रवक्ता श्रेष्ठ र उनकी स्वकीय सचिव सुसन कर्माचार्यले घर बिगारिदिएको आरोपमात्र लगाएका छैनन्, आफूलाई सडकमा पुराएको तथ्यलाई पनि खुलासा गरेका थिए।

उनले फेसबुकमा लेखेका थिए,‘मेरा छोरीहरूले फादर्स डे मनाउँदा मेरो छेउमा एउटा मान्छे राख्थें। यो साल त्यो भएन। ज्यादै खल्लो लाग्यो। मेरो घर बिगारेको अनुभुत भयो। यो देनका लागि धन्यवाद मेरा अनन्य मित्र नारायणकाजी र सुसन जी। तर मैले त्यसको सट्टा कहिल्यै नहुने छोरो पाएको छु।’

सम्पत्ती नै जाने भएपछि बिना लगानी बैंकको ब्याज तिरिदिने आशमा सुसन कर्माचार्यको मनीप्लान्ट इन्भेष्टमेन्ट प्रालीसँग कमानसिंहले याम्बलिङ हाइड्रोपावरका तर्फबाट एउटा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। जसको आफूतिरको साक्षीमा सञ्चालक इन्द्रमाया तामाङलाई राखेका थिए भने मनीप्लान्टका तर्फबाट सुसन कर्माचार्यको हस्ताक्षर छ।

कमानसिंहकी बुहारी मिनु लामाका अनुसार उक्त सम्झौताअनुसार सुसन कर्माचार्यको कम्पनीले बैंकको ब्याज तिरे पनि हाइड्रोको २ करोडको शेयर स्वतः उनको कम्पनीमा पुग्यो। जबकि, बिना लगानी उनको कम्पनीलाई कमानसिंहले २ करोड ५० लाखको शेयर दिइसकेका थिए। अब, ४ करोड ५० लाखको शेयर सुसनको कम्पनीको नाममा भएपछि त्यो फिर्ता दिइएन जुन रकम नआउँदा कमानसिंहको उपचारमा पर्याप्त रकम खर्चिन नसक्दा मृत्यु भयो।

मिनुले भक्कानिँदै दिएको अडिओ वार्तामा भनेकी छन्,‘बुबाको किड्नीमा समस्या आएकोले ट्रान्सप्लान्ट गर्ने भन्ने थियो । हामीले जग्गा धितो राखेर जलविद्युतमा लगानी  गरेका थियौं । मेरो कान्छी आमा (इन्द्रमाया)ले भनेपछि बुबाले सुसन कर्माचार्य मार्फत नारायणकाजीलाई साढे दुई करोडको शेयर दिनुभयो । आमाले भन्दिएको कारण उहाँको विश्वासले सुसनलाई दिनुभएको हो । यसरी दिएको शेयरको पैसा बुबाले बारम्बार माग्नुभयो। तर बदनियतपूर्ण हिसाबले रकम फिर्ता आएन।’

मिनुले रुँदै रुँदै अगाडि भनेकी छन्,‘बुवा किड्नीको विरामी हुनुहुन्थ्यो । यही पैसा आउँछ र उपचार गर्ने बुबाको तयारी थियो। किड्नीमा समस्या आएकोले ट्रान्सप्लान्ट गर्ने कुरा थियो। तर, नारायणकाजीले पैसा नदिदा उपचार नपाउँदै बुबाको मृत्यु भयो।’

प्रचण्ड, ओलीले आश्वासन मात्र दिए

मिनुले भनेकी छन्,‘पार्टीमा प्रधानमन्त्री केपी ओली, प्रचण्ड, नारायणकजी सबैलाई भन्यौं। प्रचण्डलाई भन्न बुवासँग म पनि गएको थिएँ । तर म भित्र गइनँ। प्रचण्डले गर्दिन्छु भन्नुभएको थियो। कुरा गरेर मिलाइदिन्छु भन्नुभएको थियो भनेर बुबा निक्कै उत्साहित पनि हुनुन्थ्यो।’

कमानसिंहलाई कोभिड हुनुभन्दा अगाडि नै पैसा दिलाइमाग्न मिनुसहित परिवारका सदस्य नेताहरुकोमा पुगेका थिए। उनले भनेकी छन्,‘प्रधानमन्त्रीले पनि पार्टीमा समस्या भइरहेको छ। म सहयोग गर्दिन्छु भन्नुभएको थियो।’

उनले अगाडि भनेकी छन्,‘पैसा नदिएपछि नारायणजीसँग कुरा गर्न हामी गएका थियौं। नारायणकाजीले कुरा बिगार्छ भन्ने लागेर बैनी (मेरो नन्द)ले भिडियो खिचेको हो। अहिले सार्वजनिक भएको भिडियो त्यही हो।’

उनले स्पष्ट भनेकी छन्,‘बुबाले दिएको सेयरको बेलामा मनिप्लान्ट भन्ने फाइनान्सबाट पैसा निकालेर बुबालाई दिएको देखाएको छ। तर, बुबाले पैसा लिएको छैन। मनि प्लान्टकै नाममा डिपोजिट छ।’

मिनुले भनेअनुसार नै सार्वजनिक भएको अडिओ भिडिओमा प्रवक्ता श्रेष्ठले आश्वासन मात्र दिएका छन्। त्यसमा पनि सुसन कर्माचार्यलाई नै फाइदा हुनेगरी उनले पूरा ८ करोड लगानीको रकमको ब्याज तिर्नका लागि कमानसिंहलाई नै घुमाउरो पारामा दबाब दिएको देखिन्छ।

यी शीर्षक पनि पढ्नुहोस्

विवादको विन्दुमा नेकपा प्रवक्ता श्रेष्ठः कमानसिंहसहित सुसन र इन्द्राबीचको नालीबेली

शंखमुलको बागमती अपार्टमेन्टमा किन धाइरहन्छन् नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ?

नाम नारायणकाजी, काम…?

प्रतिक्रिया