किन दिए नेपाली प्रशिक्षक योहानले स्वीडेनबाटै राजीनामा ?
काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिएका छन । उनले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् ।
बिहीबार बसेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को बैठकले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले जानकारी दिए । हाललाई बालगोपाल महर्जनलाई निमित्त प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ । कालिन सन् २०१९ मार्च १ मा नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनको प्रशिक्षणमा नेपालले ११ खेल खेलेको थियो ।
कोरोना महामारीपछि कालिन गत वर्ष चैत १४ गते स्वीडेन फर्किएका थिए । त्यसपछि उनले स्वीडेनबाटै राजीनामा दिएको जनाइएको थियो । उनले कोरोना महामारीका कारण खेलकुद क्षेत्र पनि प्रभावित भएको र नेपाल पुनः फर्किने सम्भावना कम भएकाले राजीनामा दिइएको जनाइएको छ ।