

धनुषा कांग्रेस अधिवेशन : दोस्रो चरणको मतदान हुँदै

काठमाडौं– नेपाली कांग्रेस धनुषा जिल्ला सभापतिका लागि दोस्रो चरणको मतदान आज हुँदै छ। बिहीबार बिहान सुरु हुने भनिएको मतदान नेताहरूबीच सहमति हुन नसक्दा एक दिन पर सारिएको हो।
निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीका अनुसार शुक्रबार बिहान ८ बजेदेखि जनकपुरधामस्थित तिरहुतिया गाछीमा मतदान हुनेछ। उम्मेदवारहरुबीचको सहमति र सहकार्यको निर्णय अनुसार मतदान कार्यक्रम पछि सारिएको उनले बताए।
यसअघि मंगलबार भएको मतगणनामा कुनै उम्मेदवारले ५० प्रतिशत बढी मत ल्याउन नसक्दा आज दोस्रो चरणको मतदान हुन लागेको हो। कुल ३ हजार १७३ मतदाता रहेकोमा यसअघि २ हजार ९ सय १८ मत खसेको थियो।
उक्त मतमध्ये सभापति पदका लागि विमलेन्द्र निधि समुहका योगेन्द्र पञ्जियार अग्रस्थानमा रहँदै १ हजार २ सय ४८ मत ल्याएका थिए भने संस्थापन पक्षबाट प्रतिद्वन्दी सन्तोष यादवले ८ सय ८२ मत ल्याएका थिए।त्यस्तै, अर्का प्रतिद्वन्दी शेखर कोइराला समूहका दिनेश प्रसैलाले ६ सय ३० मत प्राप्त गरेका थिए।
पहिलो चरणको मतदानमा कुनैपनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा अव दोस्रो चरणको लागि मतदान हुन लागेको निर्वाचन अधिकृत ज्ञवालीले जानकारी दिए। प्रसैला चुनावी प्रतिस्पर्धाबाट बाहिरिएकाले अब पन्जियार र यादवबीच प्रतिस्पर्धा हुनेछ। प्रतिस्पर्धाबाट बाहिरिएका प्रसैलाले पञ्जियारलाई समर्थन जनाइसकेका छन्।

