अमेरिकी सरकारी निकायको गोप्य डेटामा चिनियाँ ह्याकरकाे पहुँच!


काठमाडौं – चिनियाँ सरकारद्वारा समर्थित ह्याकर समूहले अमेरिकाका सरकारी निकायको डेटा चोरी गरेको पाइएको छ । साइबर सुरक्षा कम्पनी म्यान्डियन्टले हालै सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार पछिल्लो १० महिनामा चिनियाँ ह्याकरले ६ वटा अमेरिकी सरकारी निकायको डेटामा पहुँच बनाएका छन् ।

ह्याक हुने सरकारी निकायमा स्वास्थ्य, यातायात, श्रम, शिक्षा, कृषि, अदालतका नेटवर्क सिस्टम रहेका छन् । यो गतिविधिमा चिनियाँ सरकारद्वारा समर्थित ह्याकिङ समूह संलग्न रहेको अमेरिकाको अनुसन्धान निकाय एफबीआई र अमेरिकाको साइबर सेक्युरिटी तथा पूर्वाधार सेक्युरिटी एजेन्सी (सीआईएसए) ले उल्लेख गरेका छन् ।

उल्लेखित सरकारी निकायमध्ये दुई निकायको हकमा सिस्टममा रहेको कमजोरीमार्फत ह्याकरले पहुँच बनाएका हुन् । यो घटना गएको डिसेम्बर महिनामा भएको थियो । अन्यको हकमा भने सिस्टममा कसरी पहुँच बनाए भन्ने विषय अझै अध्ययनको क्रममा छ ।

अध्ययन प्रतिवेदन अनुसार अझ पछिल्ला केही समययता अमेरिकी निकायमाथि साइबर आक्रमण भइरहेको छ।
रूस र युक्रेनबीच जारी तनावका कारण धेरैको ध्यान त्यसैतर्फ केन्द्रित छ । यस्तोमा चिनियाँ ह्याकरले भने अमेरिकालाई निशाना बनाइरहेका छन् ।

प्रतिक्रिया