सभामुख सापकोटा र फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता


काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटा र फ्रान्स(नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रिटन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको छ।

बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुख सापकोटाले अध्यक्ष रिटन नेतृत्वको प्रतिनिधिमण्डलसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।

भेटमा उनीहरुले दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध अझै सुमधुर भएर जाने विश्वास व्यक्त गरेको सभामुखको निजी सचिवालयले जनाएको छ।

उता, अध्यक्ष रिटनले दुई मुलुक बीचको विकास साझेदारीलाई अझ गतिका साथ अघि बढाउन आफूहरु अझै सक्रियताका साथ लागिपर्ने बताएका थिए। भेटवार्तामा दुवै मुलुकका संसदीय अभ्यास र त्यसका अनुभवहरूबारे पनि छलफल गरिएको थियो।

सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच पर्यटन, कृषि र व्यापारको क्षेत्रमा थप सहकार्यको सम्भावना रहेको चर्चा गरेका थिए। उनले नेपालले सन् २०२६ मा कम विकसित राष्ट्रको स्थितिबाट स्तरोन्नतिका लागि दुई देशबीचको साझेदारी महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

स्वतन्त्रता, समानता र भ्रातृत्वका विषयमा नेपाल र फ्रान्सको समान दृष्टिकोण रहेको बताउँदै उनले दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म पुर्याउनु पर्नेमा जोड दिए।

 

प्रतिक्रिया