बढेर कति पुग्ला सार्वजनिक यातायातको भाडा दर ?


काठमाडौँ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा बढाउने चेतावनी दिएको छ। महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि पटकपटक हुँदा पनि सरकारले सार्वजनिक यातायातको भाडा नबढाएको भन्दै अब व्यवसायी आफैँले बढाउने चेतावनी दिएका हुन्।

पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवसायीले सार्वजनिक सवारीको भाडादर समायोजन गर्न सरकारलाई दबाब दिँदै आएको छ।

महासचिव सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएअनुसार सार्वजनिक यातायातको भाडा समायोजन नगरे व्यवसायी आफैंले भाडा समायोजन गर्ने बताए।

उनले महासंघको बैंठक बसेर यही फागुन २५ गतेसम्म सरकारले नयाँ भाडा समायोजन नगरे व्यवसायी आफैँले भाडा बढाउने निर्णय गरिसकेको जानकारी दिए। उनले भने, ‘२५ गतेसम्म सरकारले हाम्रो माग सम्बोधन नगरे वैज्ञानिक भाडादरअनुसार हामीले नै नयाँ भाडा समायोजन गरेर जान्छौँ।’

‘पेट्रोलियम पदार्थको मूल्य वृद्धिको कारण धेरै व्यवसायीले मालवाहक सवारीसाधन ग्यारेजमा थन्काएर राख्न थालेका छन्।’

व्यवसायीहरुले सरकारलाई भाडा समायोजन तथा मूल्य वृद्धि गर्न बारम्बार निवेदन गरे पनि सरकारले बेवास्ता गरिरहेको महासचिव सिटौलाको भनाइ छ। २५ गतेभित्र सार्वजनिक यातायातको वैज्ञानिक भाडादर समायोजन नगरे सवारीसाधन चल्न नसक्ने पनि उनले बताए।

सिटौलाले सरकारले यातायात व्यवसायीको मागको सुनुवाइसमेत नगरी नतमस्तक भएर बसेको तर्क गरे। सार्वजनिक सवारीसाधन तल्लो वर्गका जनताले उपयोग गर्ने भन्दै सिटौलाले १० अर्ब लगानी भएको क्षेत्र सरकारले समाप्त पार्न खोजेको दाबी गरे।
उनले पेट्रोलियम पदार्थमा पछिल्लोपटक बढेको भाडादारको अनुपातमा सार्वजनिक यातायातको पनि भाडा बढाउनुपर्ने माग गरेका छन् उनले भने, ‘पेट्रोलियम पदार्थको मूल्य वृद्धिको कारण धेरै व्यवसायीले मालवाहक सवारीसाधन ग्यारेजमा थन्काएर राख्न थालेका छन्।’

महासंघका अनुसार यातायात व्यवसायमा अनुमानित १० अर्ब लगानी भएको छ भने १२ लाख नेपालीले रोजगारी पाएका छन्। उनले प्रश्न गरे, ‘सरकारले यस्तो क्षेत्रलाई किन ध्वस्त पार्न खोजेको छ।’

पछिल्लो समय डिजल–पेट्रोलको मूल्य वृद्धि भएर रेकर्ड कायम गर्ने थालेपछि यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गर्दै आएका छन्। बिहीबार मात्रै पेट्रोल र डिजलमा ५–५ रुपैयाँ प्रतिलिटरका दरले मूल्य बढाएको थियो। अहिले पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ र डिजेल प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया