

सुन आयातमा राष्ट्र बैंकको कडाइ, अब दैनिक १० किलो मात्रै आयात गर्न पाइने

काठमाडौं – नेपाल राष्ट्र बैंकले सुनको आयातमा काडाईं गरेको छ । राष्ट्र बैंकले आइतवार निर्देशन जारी गर्दै दैनिक १० किलो मात्रै सुन आयात गर्न पाउने व्यावस्था गरेको हो । यसअघि दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था थियो ।
सुन आयातकै लागि ठूलो रकम विदेशिँदा विदेशी विनिमय सञ्चिति घट्न थालेपछि राष्ट्र बैंकले आयातको कोटा आधा घटाएको हो । व्यावसायीले भने दैनिक ३० किलोसम्म सुन आयात गर्न दिनुपर्ने माग राख्दै आएका छन् ।
चालू आर्थिक वर्षको पहिलो ७ महीनासम्ममा नेपालले २५ अर्बको सुन आयात गरिसकेको छ । यो अघिल्लो वर्षको यही अवधिका तुलनामा ९० प्रतिशतले बढी हो । विदेशी विनिमय सञ्चिति लगातार खस्किएपछि राष्ट्र बैंकले पछिल्लो समयमा विभिन्न वस्तुको आयातमा बन्देज लगाउँदै आएको छ ।

