व्यवसायीको प्रभावमा परेर मागभन्दा पाँच गुणा बढी सुपारी आयात


काठमाडौं – राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिमा तेस्रो मुलुकबाट आयात हुने सुपारीको व्यापारमा भइरहेको नीतिगत व्यवस्थाका बारेमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदन पेश गरिएको छ ।

उपसमिति संयोजक सांसद रमेशजङ्ग रायमाझीले आज समिति सभापति तारादेवी भट्टलाई प्रतिवेदन पेश गरेका हुन्। प्रतिवेदनका विषयमा समितिको आगामी बैठकमा छलफल गरी सरकारका सरोकार भएका निकायलाई निर्देशन दिइने उनले जानकारी दिए ।

सुपारीसँग सम्बन्धित गुट्खा उद्योगले पाँच हजार मेट्रिकटन सुपारी भए पुग्छ भन्ने गरेकामा सरकारले २५ हजार मेट्रिकटन आयात गर्न दिएको संयोजक रायमाझीले जानकारी दिए । यस विषयमा समितिले केही सचिव र सुपारी आयातकर्तालाई बैठकमा बोलाएकामा अनुपस्थित भएको उनले बताए ।

व्यवसायीको प्रभावमा परेर सरकारले देशमा आवश्यकताभन्दा बढी सुपारी आयात गर्न दिएको उपसमितिको प्रतिवेदनमा उल्लेख छ । आयात भएको सुपारी भारत जाने गरेको पनि सांसद रायमाझीले बैठकमा सुनाए । यस विषयमा छलफल गर्न बैठकमा बोलाउँदा भन्सार विभागका महानिर्देशक पनि सरकारको निर्देशन पालना गर्नुपर्ने भन्दै नआएको उनले समिति बैठकमा जानकारी गराए ।

सभापतिसहित चार सांसदको बिदाइ

समितिको आजको बैठकमा आजदेखि चार वर्षे कार्यकाल पूरा गर्न लागेका सभापति भट्ट, सांसदहरू दीनानाथ शर्मा, कविता बोगटी र चक्रप्रसाद स्नेहीलाई बिदाइसमेत गरिएको छ ।

बिदाइ कार्यक्रममा सांसद गङ्गाकुमारी बेल्वासे, स्नेही, नन्दा चापागाइँ, बिमला घिमिरे, शारदादेवी भट्ट, महेशकुमार महरा र बोगटीले चार वर्षे कार्यकालमा समितिले दिएका धेरै निर्देशन सरकारले कार्यान्वयन नगरेको, कोभिडका कारण समितिको वार्षिक कार्ययोजना पूरा हुन नसकेको विषयमा सरोकार भएका निकायको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा सभापति भट्टले समिति सचिवालयले दिएका निर्देशन कार्यान्वयन भए/नभएको नियमितरूपमा पछ्याउने विश्वास व्यक्त गरे। सभापति कार्यकालको अन्तिम बैठकमा उनले चार वर्षसम्म कार्यसम्पादनमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया