३१ अर्ब लगानीमा १३६ उद्योग दर्ता, धेरैजसो उपत्यका मै केन्द्रित
काठमाडौं – कोभिड महामारीको कहर कम हुँदै गएपछि स्वदेशी तथा विदेशी लगानीकर्ता उत्साहित भएका छन् । चालु आर्थिक वर्ष २०७८÷७९ को सात महिनामा ३१ अर्ब २० करोड १७ लाख रुपैयाँ विदेशी लगानी प्रस्तावका उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्याङक अनुसार साउनदेखि माघ मसान्तसम्म उक्त लगानीमा १३६ उद्योग दर्ता भएका हुन् । जसमा पर्यटन उद्योगदेखि हाइड्रोपावरसमेत रहेका छन् ।
दर्ता भएका उक्त उद्योगहरुमध्ये धेरै उद्योगहरु उपत्यका केन्द्रित रहेका छन् । विभागको तथ्याङक अनुसार विदेशी लगानीमा दर्ता भएका १३६ उद्योगहरुमध्ये ११९ वटा उद्योगहरु काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका छन् । चालू आवको पहिलो महिनामा विदेशी लगानीका ३४ वटा उद्योगहरु दर्ता भएका विभागको तथ्याङक देखाउँछ । जसमध्ये ३१ वटा उद्योग काठमाडौं उपत्यकामै रहेका छन् । यी उद्योगमा ५ अर्ब ३८ करोड ८५ लाख रुपैयाँ विदेशी लगानी काठमाडौं उपत्यकामा भित्रिएको छ । चालू आवको भदौमा सर्वाधिक विदेशी लगानीका ४० वटा उद्योग दर्ता भएका छन् । जसको लगानी ६ अर्ब ३२ करोड ३ लाख रुपैयाँ रहेको छ ।
जसमध्ये काठमाडौं उपत्यकामा मात्र ३६ वटा उद्योग दर्ता भएका छन् । बाँकी उद्योग अन्य जिल्लामा खोल्ने प्रतिवद्धता गरिएको छ । त्यस्तै, असोजमा विदेशी लगानीका ३४ वटा उदोग दर्ता भएका छन् । जसको लगानी १२ अर्ब २१ करोड ४९ लाख रुपैयाँ रहेको छ । विदेशी लगानीमा दर्ता भएका उद्योगहरुमा २७ उद्योगहरू उपत्यकामा दर्ता भएका हुन् भने बाँकी उद्योग अन्य जिल्लाका लागि दार्ता भएका हुन् ।
विभागको तथ्याङक अनुसार कात्तिक महिनामा उपत्यका लगायत कास्कीमा समेत गरी ९८ करोड रुपैयाँ विदेशी लगानीका ६ वटा, मंसिरमा ५ अर्ब १५ करोड रुपैयाँ विदेशी लगानीका ५ वटा, पुसमा ६१ करोड २० लाख रुपैयाँ विदेशी लगानीका ६ वटा र माघमा ५३ करोड ९५ लाख रुपैयाँ विदेशी लगानीका ७ वटा उद्योग दर्ता भएका छन् । माघमा दर्ता भएका उद्योगहरू काठमाडौं र झापामा सञ्चालनमा आउने बताइएको छ ।
कोभिडको दोस्रो लहरले २०२१ को मेदेखि जुलाईसम्म आक्रान्त रहे पनि त्यसपछि संक्रमण कम हुँदै गयो । नेपालसहित विश्वभरिको ठूलो जनसंख्याले कोभिडविरुद्धको खोप लगाउन थालेपछि आत्मविश्वास पनि बढ्दै गयो । यही कारण पछिल्लो समय स्वदेश तथा विदेशका लगानीकर्ता उत्साहित बनेको विभागले जनाएको छ ।