

पेट्रोलियमको मूल्य फिर्ता नलिए गाडी भाडा बढाउने व्यवसायीको चेतावनी

काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अहिले बढेको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता नलिए गाडी भाडा आफैं बढाउने चेतावनी दिएको छ।
महासंघका महासचिव सरोज सिटौलाले बढेको मूल्य सरकारले फागुन २५ गतेसम्म फिर्ता नलिए आफैं गाडी भाडा बढाउने बताए। पटक-पटक पेट्रोलियम पदार्थको मूल्य बढे पनि गाडी भाडा नबढ्दा यातायात व्यवसायीले धान्न नसक्ने अवस्था आएको उनको भनाइ छ।
नेपाल आयल निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर १३३ रुपैयाँ तोकिएको छ।
यस्तै‚ हवाई इन्धनको मूल्य प्रतिलिटर १३६ रुपैयाँ कायम गरेको छ। निगमले एलपिजी ग्यासको मूल्य भने बढाएको छैन। एलपिजी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ५७५ रुपैयाँ छ।
इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको र यसबाट निगमलाई एक महिनामा नै अर्बौं रुपैयाँ घाटा हुने भन्दै निगमले मूल्य बढाएको हो।

