नेपाली श्रमिक माल्दिभ्स पठाउनेबारे छलफल


काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि माल्दिभ्सका नवनियुक्त राजदूत डा.हसन नियाजले शिष्टाचार भेट गरेका छन् । ललितपुरस्थित निवासमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल–माल्दिभ्स श्रम समझदारीको तयारीका साथै दुई देशबीचको आपसी सम्बन्ध र दुई पक्षीय चासोबारे छलफल भएको हो ।

भेटवार्तामा मन्त्री श्रेष्ठले नेपाली डाक्टर तथा नर्सहरुलाई माल्दिभ्समा रोजगारी उपलब्ध गराउन माल्दिभ्स सरकारबाट प्राप्त अनुरोधलाई नेपाल सरकारले सकारात्मक रुपमा लिएको बताए । पछिल्लो समय माल्दिभ्समा रोजगारीका लागि जाने नेपालीको संख्या बढ्दै गएको छ । माल्दिभ्समा ५ हजारभन्दा धेरै नेपाली श्रमिक कार्यरत छन् ।

मन्त्री श्रेष्ठले मेडिकल क्षेत्र बाहेक पर्यटन, निर्माण लगायत क्षेत्रमा पनि नेपाली श्रमिकलाई हुनसक्ने रोजगारीको अवसरबारे चासो राखेका थिए । नेपाली डाक्टर तथा नर्सहरुलाई माल्दिभ्सको सरकारी अस्पतालहरुमा रोजगारी उपलब्ध गराउन नेपाल–माल्दिभ्स श्रम समझदारीपत्रको मस्यौदालाई अन्तिम रुप दिने तयारी भइरहेको छ । अहिले माल्दिभ्सका विभिन्न स्वास्थ्य संस्थामा २ सय भन्दा धेरै नेपाली डाक्टर तथा नर्सहरु रहेका छन् ।

उनीहरुले माल्दिभियन मुद्रामा आफ्नो पारिश्रमिक प्राप्त गर्ने र स्थानीय बैंकहरुले मुद्रा विनिमयको सुविधा नदिँदा बजारमा महंगो दरमा अमेरिकी डलर किन्नुपर्ने बाध्यता रहेको बताउँदै मन्त्री श्रेष्ठले माल्दिभियन बैंकहरुमार्फत डलर विनिमयको सुविधा दिन आग्रह गरे ।

मन्त्री श्रेष्ठले नेपालमा चिकित्सा अध्ययनका लागि माल्दिभ्सका विद्यार्थीहरुलाई अवसर दिन यसअघि भएको शैक्षिक सहयोग सम्बन्धि सम्झौता नवीकरण गर्न नेपाल सरकार सकारात्मक रहेको बताए । कोरोना भाइरस महामारीमा माल्दिभ्स सरकारले २ लाख डोज खोप उपलब्ध गराएकोमा पनि उनले माल्दिभ्स सरकारलाई धन्यवाद दिए ।

प्रतिक्रिया