बुढासुब्बा गोल्डकप आगामी चैत २६ देखि


सुनसरी – २३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत २६ गतेदेखि धरान उपमहानगरपालिका-१६ स्थित रंगशालामा सुरु हुने भएको छ। कोरोना महामारीका कारण गत वर्ष आयोजना हुन सकेको थिएन।

प्रतियोगितामा आयोजक क्लबसहित आठ टिम सहभागी हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए। उनका अनुसार काठमाडौँमा हालै सम्पन्न भएको सहिद स्मारक लिगको उत्कृष्ट तीन टिम सहभागी हुनेछन्। भारतका दुई क्लब र मोफसलको अन्य दुई उत्कृष्ट क्लब पनि प्रतियोगितामा सहभागी हुने अध्यक्ष राईले जानकारी दिए।

विजेताले नगद ट्रफीसँगै नगद १० लाख र उपविजेतालाई नगद पाँच लाख रुपैयाँ पुरस्कार राखिएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँ पाउनेछन्। ५१ लाख ३२ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ। करिब १५ लाख रुपैयाँ नाफा गर्नेगरी प्रतियोगिताको तयारी गरिएको आयोजकले जनाएको छ।

विजेता र उपविजेतालाई दिइने नगद पुरस्कार धरान उपमहानगरपालिकाले व्यवस्थापन गर्ने भएको छ। त्यसका लागि उपमहानगरले १८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। त्यसमध्ये १० लाख पहिलो पुरस्कार र पाँच लाख रुपैयाँ दोस्रो पुरस्कारको छुट्याइएको छ। बाँकी तीन लाख रुपैयाँ धरानको टिम तयारीका लागि खर्च गर्नेगरी उपमहानगरले उपलब्ध गराउने निर्णय भएको क्लबका अध्यक्ष राईले जानकारी दिए।

उनले यसपटक उपाधि जित्ने लक्ष्यसहित आयोजकले दुई टिम तयार गर्ने जनाएको छ। उपाधि जित्ने गरी ए डिभिजन र विदेशी खेलाडीसमेत समावेश गरेर सिनियर टिम तयार गरिने अध्यक्ष राईले बताए ।

प्रतिक्रिया