
आजदेखि वीरेन्द्रनगरको निषेधाज्ञा पूर्ण रूपमा हट्यो
काठमाडौं – सुर्खेतको वीरेन्द्रनगरमा जारी गरिएको निषेधाज्ञा बिहीबार बिहान ६ बजेदेखि पूर्ण रूपमा हटेको छ।
एमसीसीको विरोधमा भएको प्रदर्शनका क्रममा केही समूह उग्र बनेपछि सुर्खेत जिल्ला सुरक्षा समितिले सोमबार बेलुका सवा ८ बजेदेखि मङ्गलवार बेलुका ७ बजेसम्म कर्फ्यु लगाएको थियो।
मङ्गलवार दिउँसो स्थिति सामान्य बनेपछि कर्फ्यु हटाएर अनिश्चितकाका लागि निषेधाज्ञा जारी गरिएको थियो।
मङ्गलवार दिउँसोदेखि लागु हुने गरी वीरेन्द्रनगर बजार क्षेत्र, यरीचोक, मंगलगढी चोक, हटियालाई, हटियाचोक क्षेत्रमा पाँच जना भन्दा धेरै मानिस जमघट हुन नपाउनेगरी निषेधाज्ञा लगाइएको थियो।
बुधवार बेलुका सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले हाल जिल्लाको शान्ति सुरक्षाको स्थिति सामान्य अवस्थामा आइसकेकोले बिहीबार बिहान ६ बजेदेखि निषेधाज्ञा हटाइएको जानकारी गराएको हो।



कागजपत्र |
