राप्रपा नेपालका अध्यक्ष थापाद्वारा १६ पदाधिकारी मनोनयन


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पार्टीको केन्द्रीय पदाधिकारीमा १६ जनालाई मनोनयन गरेका छन् ।

राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यका अनुसार अध्यक्ष थापाले पार्टीको विधान बमोजिम ६ जनालाई उपाध्यक्षमा ४ जनालाई महामन्त्रीमा र ६ जनालाई सहायक महामन्त्रीमा मनोनयन गरेका हुन् । राप्रपा परित्याग गरी राप्रपा नेपालमा आएका नेताहरु नै पदाधिकारीमा मनोनित भएका छन् ।

राप्रपा नेपालका अध्यक्ष थापाले बुधबार पर्साका राजिब पराजुली, काठमाडौंका उद्धव पौडेल र जयकुमार खड्का, वाँकेका राजेन्द्र बीर राय, तनहुँका डा. विष्णु भण्डारी र धनकुटाका लाक्पा तामाङलाई पार्टीको केन्द्रीय उपाध्यक्षमा मनोनित गरेका हुन् । अध्यक्ष थापाले यसअघि धनकुटाका तामाङबाटै अध्यक्ष पद पाएका थिए ।

यस्तै, महामन्त्रीमा ललितपुरका भाष्कर भद्रा, महोत्तरीका सुशिल श्रेष्ठ, काठमाडौंका इन्द्र चित्रकार र मकवानपुरका राजाराम बर्तौला मनोनित भएका छन् । थापाले सहायक महामन्त्रीमा भने सुनसरीका हरिकृष्ण श्रेष्ठ, पर्वतका धरम गुरुङ, भोजपुरका अम्विका प्रसाद ढकाल, काश्कीका शिवकुमार बास्तोला, झापाकी ममता राई र महोत्तरीका शशिरञ्जन यादवलाई मनोनित गरेका छन् ।

यसअघि आजै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी महामन्त्रीमा पराजित भएकी अभिनेत्री रेखा थापासहित १६ जना महिलालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । गत मंसिरमा भएको राप्रपाको महाधिवेशनमा लिङदेनले थापालाई पराजित गरेपछि थापाले माघमा मात्रै राप्रपा नेपाल नयाँ पार्टीको नेतृत्व लिएर पुनर्गठन गरेका थिए ।

प्रतिक्रिया