दाङमा कारले मोटरसाइकललाई ठक्कर दिँदा १० वर्षीया बालिकाको मृत्यु, तीन जना घाइते


दाङ – दाङमा कारले मोटरसाइकललाई ठक्कर दिँदा १० वर्षीया बालिकाको मृत्यु भएको छ। गोबरडियाबाट सिसहनियातर्फ जाँदै गरेको लु २ च ७६८२ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको रा ३ प ३४६१ नम्बरको मोटरसाइकल मंगलबार बेलुकी आपसमा ठाक्किएर दुर्घदना भएकाकाे हो । दुर्घटनामा परि पैदलयात्रुसहित तीन जना घाइते भएका छन्।

बेलुका करिब १० बजे गढवा गाउँपालिका २ महादेवा पुल नजिकै कारले मोटरसाइकललाई ठक्कर दिँदा राप्ती गाउँपालिका वडा नम्बर ७ आनन्दपुरकी सन्ध्या चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते चौधरीको उपचारका क्रममास् लमही अस्पतालमा गए राति मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक भुवन भट्टले बताए।

दुर्घटनामा मोटरसाइकल चालक राप्ती ६ सगरापुरका ४४ वर्षीय जयराम चौधरी र उनकी बहिनी ३५ वर्षीया बेदकुमारी चौधरी घाइते छन्। मोटरसाइकल जयरामले चलाएका थिए। उनकी भान्जी सन्ध्याको मृत्यु भएको हो।

साथै दुर्घटनामा पैदल यात्रु लमही नगरपालिका ८ असानीका २८ वर्षीय पारस बोहरा पनि घाइते छन्। उनको लमहीमै उपचार भइरहेको छ।

प्रहरीका अनुसार घाइते बेदकुमारी र जयरामलाई उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ। तीव्र गतिका कारण उक्त दुर्घटना भएको प्रहरीको अनुमान छ। कार र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया