


स्थानीय निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृत र अधिकृतको नाम सिफारिस

काठमाडौं– न्याय परिषद्को बैठकले स्थानीय तहको निर्वाचनका लागि खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस गरेको छ।
आयोगको आग्रहअनुसार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा हिजो (सोमबार) बसेको परिषद्को बैठकले ४६७ जनाको नाम सिफारिस गरेको हो।
जिल्ला न्यायाधीशलाई प्रमुख निर्वाचन अधिकृतका रुपमा खटाउने परम्पराअनुसार उनीहरुको नाम सिफारिस गरिएको न्याय परिषदका प्रवक्ता मानबहादुर कार्कीले बताए।
परिषद्ले ९२ जिल्ला न्यायाधीश, न्यायसमूहका १७९, कानुन समुहका ४९ र सरकारी वकिल समुहका १४७ जना उपसचिवलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस गरेको छ। कुनै न्यायाधीश बिरामी परेको अवस्था वा विशेष कारणवश मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी पूरा गर्न नसक्ने भएमा अन्य न्यायाधीशलाई खटाउनका लागि १५ जना न्यायाधीशलाई जगेडामा पनि राखिएको छ । एक न्यायाधीश मात्रै रहने जिल्लामा ती जिल्लाका न्यायाधीश स्वतः मुख्य निर्वाचन अधिकृत बन्नेछन् ।
आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी निर्वाचन आयोगले तीव्र पारेको छ। एकै चरणमा हुने लागेको निर्वाचनमा उनीहरुलाई खटाइने छ।

