


निक्षेप संकलन र कर्जा प्रवाहको अन्तरले तरलता अभाव झन् चर्कने संकेत

काठमाडौं – पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा भएको निक्षेप संकलन र कर्जा प्रवाहको अन्तरले तरलता अभाव झन् चर्कने संकेत देखिएको छ । वाणिज्य बैंकहरूले दुई अर्ब रूपैयाँ निक्षेप बढाउँदा कर्जा लगानी भने १० अर्ब रूपैयाँले बढाएका छन् । नेपाल बैंकर्स एशोसिएसनले सोमवार सार्वजनिक गरेको फागुन दोस्रो सातासम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले निक्षेपको तुलनामा अस्वभाविक कर्जा प्रवाह बढाएका हुन् ।
नेपाल बैंकर्स संघका अनुसार फागुन ६ गतेसम्ममा ४३ खर्ब १२ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको निक्षेप बढेर फागुन १३ गतेसम्ममा ४३ खर्ब १३ अर्ब रुपैयाँ पुगेको हो । यस अवधिमा बैंकहरुको कर्जा प्रवाह भने ६ अर्ब रुपैयाँले बढेको छ । फागुन ६ गतेसम्म ४१ खर्ब ५९ अर्ब रुपैयाँ रहेको कुल कर्जा लगानी ६ अर्बले बढेर फागुन १३ गतेसम्म ४१ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको हो ।
बैंकहरूले स्रोतको खोजी गरेर निक्षेप बढाउन नसक्दा राष्ट्र बैंकबाट एक साताको लागि लिने स्थायी तरलता सुविधा (एसएलएफ) मा मात्रै भर परेर कर्जा प्रवाह भएको देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप संकलनमा भन्दा कर्जा प्रवाहमा बढी जोड दिएका छन् । जसले गर्दा पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) को अभाव बढ्दै गएको छ ।
बैंकमा जम्मा भएको रकम ठुलो परिणाममा बजारमा परिचालन भएको तर सोही अनुरुपमा निक्षेप संकलन हुन नसकेपछि बैंकहरुमा तरलता अभाव देखिन थालेको हो । हालसम्ममा वाणिज्य बैंकको प्रणालीमा ४३ खर्ब १३ अर्ब रूपैयाँ मात्रै निक्षेप संकलन भएको छ भने यो अवधिसम्मको कर्जा प्रवाह भने ४१ खर्ब ६५ अर्ब रूपैयाँ पुगेको छ । गत वर्षको फागुन महिनामा भने ४० अर्बले निक्षेप बढेको थियो ।
अहिलेसम्मको तथ्यांकअनुसार यो वर्ष भने सातामा १ अर्ब मात्रै बढ्दै गएका कारण एक महिनाको वृद्धिदर गत वर्षको तुलनामा निकै न्यून हुने देखिएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनमा भएको वृद्धि भन्दा उच्च दरले कर्जा विस्तार हुदै गएकोले लगानी योग्य साधनमा दबाब यस क्षेत्रमा बर्षेनी भइरहेको छ ।
निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढी भएका कारण वित्तीय स्थायित्व प्रभावित हुन जान्छ । यसरी निक्षेप संकलनको तुलनामा बैंकहरुले कर्जा प्रवाह बढाउदा थप कर्जा दिने रकम अभाव हुन गई वित्तीय बजारमा अन्तर बैंक कारोबार बढेको छ ।

