काठेपुलको कहरः जिम्मा लिएर ठेकेदार गायब, गाउँले बटुलेर नदीमाथि काठको फड्के


पोखरा – खोलामा राखिएका काठेपुल ‘रिप्लेस’ गर्न २० फागुनदेखि मनाङ जाने बाटो बन्द हुँदैछ। गत असार र साउनमा आएको बाढीले बगाएपछि तिमाङ छहरामा ६ महिनाअघि काठको फड्के राखिएको थियो।

निरन्तरको वर्षा र हिमपातले उक्त पुल मक्किएको छ। अहिले त्यहाँ कल्भर्ट राख्न लागिएको प्रमुख जिल्ला अधिकारी (सिडिओ) रवीन्द्र आचार्यले जानकारी दिए।

म्यार्दी खोलामा दुई वर्षअघि पक्की पुल बनेपछि काठको पुलबाट गाडी तार्नुपर्ने बाध्यता हटेको छ। घोप्टेभिरमा पनि अघिल्लो वर्षसम्म काठकै पुल तरेर गाडीहरू आउजाउ गर्थे, अहिले त्यहाँ बेलिब्रिज राखिएको छ।

यसबाहेक मनाङका अधिकांश खोला र नदीमाथी काठकै पुल छन्, जुन वर्षेनी नयाँ फेरिरहनुपर्छ। दुई साताअघि मनाङको नासों गाउँपालिकाको थोंचेदेखि तिल्चे जाने बाटोमा दुधखोलामाथि स्थानीयले काठेपुल हालेका छन्।

ठेकेदारले पक्की पुल बनाउन ६ वर्षअघि ठेक्का लिएर पनि काम नगरेपछि त्यहाँ गाडी पार गर्न काठको पुल हालिएको हो। दुई सय १९ जना खेताला लगाएर काठको पुल जोडिएको त्यहाँका वडाध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए।

२०७३ सालको असारमा ठेक्का लागेको यो पुल एक वर्षभित्रै सक्नुपर्ने सम्झौता भए पनि अहिलेसम्म निर्माण अघि बढेको छैन। भ्याटबाहेक तीन करोड ५५ लाखमा दिइएको ठेक्काको काम अलपत्र पारेपनि ठेकेदारले पटकपटक गरेर करिब एक करोड ३२ लाख रुपैयाँ निकासा पाइसकेको छ।

पुल बनाउन मृत सञ्जीवनी, खड्का र क्याराभान कम्पनीले ज्वाइन्ट भेन्चरमा कामको जिम्मा लिएका हुन्। यही खोला तरेर छिमेकी जिल्ला गोरखा र उत्तरी छिमेकी देश चीन जोडिन्छ।

‘ठेकेदारले पुल बनाउने पैसा लग्यो। दिनदिनै अनुनय गर्छौं तर कसैले मतलव गर्दैनन्,’ गुरुङले भने, ‘सरकारभन्दा ठेकेदार बलियो भएको देशमा कसलाई के सुनाउनु?’ त्यहाँको मात्रै होइन, क्याराभानले नै जिम्मा लिएको हुम्डे पुल पनि अलपत्र छ।

जिल्लाका ६ वटा पुल अहिले पनि अलपत्र अवस्थामा छन्। सबैको ठेक्का क्याराभानले नै लिएको हो। पिसाङ र मुङजीमा निर्माणाधीन पुलको कुनै टुंगो छैन। तिमाङमा सकिनै लागेको पुल असारको बाढीले बगाएको छ।

काठेपुल तत्कालको विकल्प भए पनि बर्खा लागेपछि जोखिम बढ्ने उनको भनाइ छ। ‘अहिले त्यत्रो खर्च लगाएर हालेको पुल बर्खा नलाग्दै भाँचिन्छ। पानीमा काठ खासै टिक्दैन,’ उनले भने, ‘पक्की पुल नबनाएसम्म स्थायी समाधान देख्दिनँ। राज्यले ध्यान दिओस्।’ ठेकेदारको चरम लापरबाहीका कारण त्यहाँका नागरिकले सास्ती भोग्नुपरेको छ।

काठेपुलकै भरमा ठूला गाडी समेत तर्दा जोखिम बढेको स्थानीयहरु बताउँछन्। नासों गाउँपालिका अध्यक्ष चन्द्र घले नयाँ टेन्डर निकालेर भए पनि पुल बनाउनुपर्ने बताउँछन्। ‘सात वर्षअघि पुलको ठेक्का दिएको हो। अहिलेसम्म हालत यस्तो छ,’ उनले भने, ‘गर्छ भने यही ठेकेदारलाई लाउनुपर्‍यो। नत्र ठेक्का तोडेर नयाँ टेन्डर निकाल्नुपर्‍यो।’

गाडीको चाप बढेपछि पक्की पुल अनिवार्य भएको सिडिओ आचार्यले बताए। ‘मनाङमा मान्छे मात्रै होइन गाडी पनि काठकै पुलबाट तर्छन्। पछिल्ला वर्षहरूमा पर्यटकको चाप बढ्दैछ। ठूला गाडीहरू पनि आउन थाले,’ उनी भन्छन्, ‘काठेपुलले अब धान्दैन। तर जबर्जस्ती गर्नुपर्ने बाध्यता छ।’

सडक आयोजनाले चामे जाने बाटोमा २१ वटा पक्की पुल बनाउनुपर्ने प्रस्ताव सरकारलाई गरेको छ। तर निर्माण प्रक्रिया अघि बढेको छैन।

फाेटाे-धनबहादुर गुरुङ/मनाङ

प्रतिक्रिया