राष्ट्रिय बीमा कम्पनीका सञ्चालक भण्डारीले दिए राजिनामा


काठमाडौं– राष्ट्रिय बीमा कम्पनीका सञ्चालक समितिका सदस्य अर्जुन भण्डारीले राजिनामा दिएका छन् । अर्थमन्त्रालयका प्रतिनिधिका रुपमा आएका सञ्चालक भण्डारीले केहि दिन अगाडि मन्त्रालयमै राजिनामा बुझाएका हुन् । प्रमुख कार्यकारी अधिकृत पदको पदपूर्ती सिफारिस उपसमितिको मूल्याङ्कनमा तेस्रो नम्बरमा रहेका शेखर बराललाई नियुक्ति गर्न नसके पछि भण्डारीले राजिनामा दिएका हुन् ।

भण्डारीले अर्थमन्त्रीको निर्देशनमा तेस्रो वरियतामा रहेका बराललाई नियुक्तिका लागि अडान राख्दै आएका थिए । भण्डारीको राजिनामा पछि प्रमुख कार्यकारी अधिकृको नियुक्तिमा थप ढिलाइ हुने भएको छ ।

मन्त्रालयले आफ्नो प्रतिनिधि पठाए पछि मात्रै नियुक्ति प्रकृयाँ अगाडी बढ्नेछ । पदको पदपुर्ति सिफारिस उपसमितिले प्रमुख कार्यकारी अधिकृतका लागि मंसिर १२ गते सार्वजनिक सूचना आह्वान गरेको थियो ।

यस पदका लागि सुकल्याण पराजुली, सुरेन्द्र थापा, बुद्धकाजी श्रेष्ठ, शेरजंग कार्की, तोयराज अधिकारी, कृष्णबहादुर कार्की, रमेश लम्साल, मनोज सिंह भण्डारी, शेखर बराल, रामबहादुर खड्का र बरिस्मा साउद आचार्यले निवेदन दिएका थिए । उपसमितिले उनिहरु मध्येबाट गत पुस १३ गते ५ जनाको नाम सर्ट लिस्ट गरेको थियो । सर्ट लिष्टमा परेका तोयनाथ अधिकारी, बुद्धकाजी श्रेष्ठ, राम बहादुर थापा, सुरेन्द्र थापा र शेखर बराल परेका थिए ।

प्रतिक्रिया