

जीवन बीमा कम्पनीद्धारा ८१ अर्ब ३० करोड बीमाशुल्क संकलन

काठमाडौं – चालु आर्थिक वर्षको सात महिनामा जीवन बीमा कम्पनीहरुले ८१ अर्ब ३० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्षको माघ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ८१ अर्ब ३० करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।
गत वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरुले ७४ अर्ब ५५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले माघ महिनासम्ममा प्रथम बीमाशुल्कबाट २३ अर्ब ३ करोड रुपैयाँ संकलन गरेका छन् भने नविकरणबाट ५८ अर्ब २६ करोड बीमाशुल्क संकलन गरेका छन् ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले ३८ अर्ब १८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । यस्तै आर्थिक वर्षको माघ महिनामा मात्रै जीवन बीमा कम्पनीले १० अर्ब ३८ करोड बीमाशुल्क संकलन गरेका छन् । आर्थिक वर्षको माघ महिनामा कुल बीमालेख संख्या १० लाख ३८ हजार रहेका छन् ।
समितिको तथ्यांक अनुसार माघ महिनासम्ममा सबैभन्दा बढि बीमाशुल्क संकलन नेपाल लाइफ इन्स्यनेरेन्स कम्पनीको रहेको छ । नेपाल लाइफले यस अवधिसम्ममा कुल २१ अर्ब ८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । उक्त कम्पनीले प्रथम बीमाशुल्कबाट ३ अर्ब ८७ करोड रुपैयाँ संकलन गरेको छ । त्यस्तै, नविकरण बीमाशुल्क वापत १७ अर्ब २१ करोड रुपैयाँ संकलन गरेको छ ।
आर्थिक वर्षको पहिलो त्रैमासमा समेत नेपाल लाइफ नै अगाडि रहेको थियो । उक्त अवधिमा कम्पनिले ९ अर्ब ९० करोड रुपैयाँ आर्जन गरेको थियो । यस्तंै असोज महिनामा मात्रै कम्पनिले २ अर्ब २८ करोड रुपैयाँ आर्जन गरेको थियो ।
त्यस्तै दोस्रो धेरै बीमाशुल्क संकलन गर्नेमा एलआईसी नेपाल रहेको छ । सो कम्पनीले ९ अर्ब ७५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस्तै, यस अवधिमा नेशनल लाइफले ७ अर्ब ८९ करोड ७२ लाख रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ४२ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

