युक्रेनले ताेड्याे रुससँग कुटनीतिक सम्बन्ध


काठमाडाैं – युक्रेनले रुससँग कुटनीतिक सम्बन्ध तोडेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज बिहीवारको एउटा प्रेस ब्रिफिङमा बोल्दै रुससँगको कुटनीतिक सम्बन्ध तोडिएको बताएका छन् ।

यसैबीच राष्ट्रपति जेलेन्स्कीले देशभित्र हतियार माग्ने जो कोहीलाई उपलब्ध गराउने बताएका छन् । रुससँगको तनाव बढ्दै गर्दा युक्रेनी नागरिकहरूले आधारभूत सैन्य तालिम लिइरहेका तस्बिर पनि सार्वजनिक भएको थियो ।

आज बिहीवार बिहान पुटिनले युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेका थिए । त्यो घोषणापछि युक्रेनका विभिन्न क्षेत्रमा हवाई आक्रमण भएको छ ।

रुसी आक्रमणबाट अहिलेसम्म सात जनाको ज्यान गएको युक्रेनले बताएको छ । आक्रमणमा सैन्य एकाइहरूलाई निसाना बनाइएको अधिकारीहरूले बताएका छन् ।

युक्रेनमा रुसले गरेको आक्रमणकाे अमेरिका, बेलायतसहित संयुक्त राष्ट्र सङ्घले कडा निन्दा गर्दै संयमता अपनाउन आग्रह गरेका छन् । बीबीसी

प्रतिक्रिया