

साताको अन्तिम दिन नेप्सेमा भारी गिरावट

काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा भारी अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक भारी अंकले घट्दा कारोबार भएका सबै उपसमूहको सेयर घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ५८.९९ अंकले घटेर २६६१.४४ विन्दुमा झरेको छ । नेप्से २.१७ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १०.३६ अंकले घटेर ५०७.८ विन्दुमा झरेको छ ।
कूल २२९ वटा कम्पनीको ८४ लाख ९० हजार ६ सय ८९ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार एक सय ९२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेको छ । बिहीबार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २६ करोड ९७ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयरमूल्य ९.९१ प्रतिशतले बढेर ७ सय ६५ रूपैयाँ पुगेको छ । यस दिन युनिभर्सल पावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् ।

