बानेश्वरमा एमसीसीको विरोधमा चर्को नाराबाजीसहित प्रदर्शन


काठमाडौं – अमेरीकी सहयोग मिलिनियन च्यालेन्ज कर्पोरेसन्स सम्भौताको विरोधमा काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा वृहत प्रदर्शन सुरु भएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठनका नेता कार्यकर्ताहरू माइतीघरमा भेला भएर नाराबाजी र र्‍यालीसहित प्रदर्शन गर्दै संसद् भवन नजिक नयाँ बानेश्वरमा भेला भएका छन् ।

एमसीसीका विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले विभिन्न किसीमका नारा लगाउनुका साथै शङख फुकेर विरोध गरिरहेका छन् ।

उनीहरूले बिहीबार निषेधित क्षेत्र तोडेर संसद् भवन घेराउ गर्ने बताएका छन् । त्यस्तै अर्को दल नेकपा समाजवादीका जनवर्गीय संगठन अनेरास्ववियुले पनि एमसीसीको विरोधमा मीनभवनबाट विरोध र्‍याली निकाल्ने र संसद् भवन घेराउ गर्ने तयारी गरेको छ ।

सत्तारुढ दलका जनवर्गीय संगठनबाहेक विप्लव समूह, क्रान्तिकारी माओवादीलगायतका ६ राजनीतिक दलहरूले पनि बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने जनाएका छन् । विरोध प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर आसपासका सडकमा व्यवस्थामा कडाई गरेको छ। बानेश्वर क्षेत्रमा मात्रै प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा २४ सय प्रहरी खटाएको महानगरीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया