पर्यटन मन्त्री आलेद्वारा कलाकार लामाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण


काठमाडौं – लोकगीत संकलक, गायक तथा अभिनेता जयनन्द लामाको पार्थिव शरीरमा उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तिम श्रद्धाञ्जली दिएका छन् । यस्तै लामाको शवमा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् ।

बुधबार बिहान निधन भएका लामाको शव श्रद्धाञ्जलीका लागि बिहीबार बिहान १० बजेदेखि नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा राखिएको छ ।

कलाकार लामाप्रति श्रद्धाञ्जली दिन चलचित्र तथा सांगीतिक क्षेत्रका थुप्रै कलाकारहरुसँगै सर्वसाधारण नाचघर पुगेका थिए । बौद्ध धर्मगुरुहरु पनि नाचघरमा पुगेर लामाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका छन् ।

स्वर्गीय लामाको शवलाई दिउँसो १ बजे बौद्ध परम्पराअनुसार अन्त्येष्टिका लागि स्वयम्भूमा लगिने जनाइएको छ ।

भक्तपुरको मध्यपुरथिमि नगरपालिका(१, कौशलटारस्थित आफ्नै घरअगाडि गायक तथा कलाकार लामा बुधबार बिहान मृत फेला परेका थिए ।

 

प्रतिक्रिया