

यी हुन् संवैधानिक इजलाशका न्यायाधीशहरू, ‘संसद विघटनमा कारण देखाऊ आदेश आउन सक्ने’

काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटको सुनुवाई आज सर्वोच्च अदालतको संवैधानिक इजलाशमा हुने भएको छ। दिउँसो हुने सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको इजलाश बस्न लागेको हो।
न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीसहित पूर्ण इजलाशमा सुनुवाई हुने सर्वोच्च अदालतले जनाएको छ । संसद् विघटनबारेका १४ रिटसहितका मुद्दाका बारेमा सुनुवाई हुनेछ।
प्रधानन्यायाधीश राणाको एकल इजलासले अस्ति बुधबार यो मुद्दालाई संवैधानिक इजलासमा पठाएका थिए। रिट निवेदकका तर्फवाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, शम्भु थापा, दिनेश त्रिपाठी, हरिहर दाहाल, कृष्णप्रसाद भण्डारी लगायतले बहस गरेका थिए ।
यसैबीच आज बस्ने संवैधानिक इजलाशले कारण देखाऊ आदेश जारी गर्न सक्ने अनुमान गरिएको छ। तर नेकपा प्रचण्ड–नेपाल समूहलगायत कानुनकर्मीले भने अन्तरिम आदेशको अपेक्षा गरेका छन्। तर त्यस्तो नहुनेमा ओली समूहको नेकपा ढुक्क छ।

