आयोगद्वारा स्थानीय निर्वाचनका लागि नौ अर्ब माग


काठमाडौं  – निर्वाचन आयोगले स्थानीय तह निर्वाचन सञ्चालन तथा व्यवस्थापनको लागि अर्थ मन्त्रालयसँग करिब ९ अर्ब रुपैयाँ माग गरेको छ।

आयोगले निर्वाचनका लागि ८ अर्ब ९५ करोड २९ लाख ४ हजार रुपैयाँ निकासा गर्न माग गर्दै अर्थ मन्त्रालयमा पत्राचार गरिसकेको जानकारी दिएको हो।

आयोगका प्रवक्ता शालिग्राम पौडेलले २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनभन्दा करिब ८१ करोड बढी खर्च हुने अनुमान आयोगले गरेको जानकारी दिए। पहिलो स्थानीय तहको निर्वाचनमा वस्तुगत सहायता समेत ८ अर्ब १४ करोड खर्च भएको आयोगले जनाएको छ।

आयोगले मूल्य वृद्धि, कर्मचारीको तलबमा भएको वृद्धि, २०७४ सालपछि थप भएका करिब ३८ लाख मतदाता सङ्ख्या, मतदाता र मतदान केन्द्रको वृद्धि भए अनुसार हुने मतपत्र र निर्वाचन सामग्रीको वृद्धि तथा कोभिड–१९ को व्यवस्थापनका कारण थप खर्च हुने जनाएको छ।

विगतमा निर्वाचनको काममा संलग्न कर्मचारीलाई खाइपाइ आएको तलबको १२१ प्रतिशत निर्वाचन सुविधा भएकोमा यस निर्वाचनमा सुरु तलब स्केलको सय प्रतिशत हुने गरी बजेटमा प्रस्ताव गरेको आयोगले जनाएको छ।

साथै स्थानीय तहको अघिल्लो निर्वाचनमा मतदाता शिक्षामा करिब ८० करोड ६० लाख रुपैयाँ खर्च भएकोमा यस पटक करिब २४ करोड १७ लाख रुपैयाँ मात्र बजेट प्रस्ताव गरेको पनि आयोगले जनाएको छ।

प्रतिक्रिया